वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघ र नासा सेक्युरिटिजको आयोजनामा वीरगञ्जमा शनिवार शेयर बजारसम्बन्धी एकदिने तालीम सम्पन्न भएको छ ।
बारा, पर्सा, रौतहट, सर्लाहीका २०० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको तालीममा सुवासचन्द्र भट्टराई, हरि ढकाल, शिवचन्द्र र सुरज प्याकुरेलले शेयर बजारका विविध पक्षबारे प्रशिक्षण दिएका थिए ।
संघका अध्यक्ष सुवोधकुमार गुप्ताको अध्यक्षतामा भएको तालीम उद्घाटन समारोहमा मधेश प्रदेशका ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह र नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले लगानीकर्ताले हचुवामा लगानी गर्न नहुने सुझाव दिए ।
आफूले लगानी गर्न चाहेको कम्पनीको अवस्थाबारे राम्ररी अध्ययन गरेरमात्रै लगानी गर्नुपर्ने उनीहरूको भनाइ थियो । धैर्य र सचेतना लगानीकर्ताका आधारभूत आवश्यकता भएको उनीहरूले औंल्याए ।
संघको शेयर मार्केट समितिका संयोजक मुर्ली जलानले संयोजन गरेको तालीम उद्घाटनमा संघका उपाध्यक्ष अनिल अग्रवाल, हरि गौतम, सहकोषाध्यक्ष प्रेमचन्द गोयल, कार्यसमिति सदस्य निरज अग्रवाल, नासा सेक्युरिटिजका प्रबन्धक जीतकुमार दाहाललगायतले शेयर बजार प्रवेश गर्दा लगानीकर्ताले कम्पनीको आधारभूत पक्षबारे जानकारी राख्नैपर्ने बताए ।