ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७१ मेगावाटको नीलगिरि दोस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको 'ब्रेक थ्रू', निर्माण अन्तिम चरणमा

२०७९ भदौ, ७  
समाचार विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । ‘हाइड्रो हब’ को रूपमा परिचित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

नीलगिरि हाइड्रोपावरले तीन वर्षअघि अन्नपूर्ण बेसक्याम्प नजिक ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो आयोजनाको निर्माण एकसाथ शुरू गरेको थियो ।

एउटै खोलाबाट एकैपटक १०९ मेगावाट क्षमताको दुईओटा जलविद्युत् आयोजनाको निर्माण शुरू गरेको कम्पनीले ४ हजार २७५ मिटर लामो सुरुङको ‘ब्रेक थ्रू’ गरेसँगै आयोजनाको कामले गति लिन थालेको हो ।

आयोजनाका इन्जिनीयर रत्न बम्जन तामाङका अनुसार सुरुङ जोडिएसँगै नीलगिरि दोस्रो जलविद्युत् आयोजना ७५ प्रतिशत निर्माण पूरा भएको छ ।

नारच्याङको दोभानस्थित विद्युत्गृह र छोटेपाको बाँधतर्फबाट २०७६ सालदेखि आयोजनाले सुरुङ निर्माण थालेको थियो । पाँचओटा अडिटबाट एकसाथ सुरुङ खनिएकाले समयमै सुरुङ जोड्न सफल भएको इन्जिनीयर तामाङले जानकारी दिए ।

आयोजनाको सबैभन्दा कठिन मानिएको सुरुङ निर्माण सकिएसँगै अन्य संरचनाको निर्माण तीव्र पारिएको उनले बताए । पाँचओटा अडिटबाट एकसाथ सुरुङ खनिएकाले समयमै सुरुङ जोड्न सफल भएको उनको भनाइ छ ।

‘बाँध र विद्युत् गृह निर्माण तथा इलेक्ट्रोमेकानिकल काम धमाधम अघि बढाएका छौं,’ उनले भने । आगामी एक वर्षभित्र दुवै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण तीव्र बनाइएको उनको भनाइ छ । त्यसैगरी ३८ मेगावाट क्षमताको नीलगिरि पहिलोको सुरुङ पनि दशैंअघि जोड्ने लक्ष्यसहित काम भइरहेको उनले बताए ।

आयोजनाको बाँध निर्माण ९० प्रतिशत सकिएको छ । यस्तै, विद्युत् गृहको काम ८० प्रतिशत काम सकिएको आयोजनाका सहायक इन्जिनीयर योगेश सुवेदीले बताए । सुरुङ जोडिएसँगै फिनिसिङको काम अघि बढेको उनले जानकारी दिए ।

नीलगिरि पहिलोको विद्युत् गृहबाट निस्कने पानी बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भइरहेको बताइएको छ  । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत् गृह निर्माण थालिएको छ । क्यासकेडको विद्युत् गृहदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । 

छोटेपामा ३० मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ । यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्छन् । कठिन भीर खनेर आयोजनाको निर्माण स्थलसम्म पुग्न सडक निर्माण गरिएको छ । 

करीब १४ अर्ब रुपैयाँ लागत अनुमान गरिएका दुवै आयोजना नदी प्रवाह प्रकृतिका हुन् । नीलगिरि खोलाबाट उत्पादित बिजुली २२० केभी क्षमताको दाना सबस्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । 

छोटेपा–दोबिल्ला हुँदै दाना सबस्टेशन जोड्ने सात दशमलव चार किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माण भइरहेको आयोजनाले बताएको छ ।  यसअघि नारच्याङमै ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइसकेको छ । यस्तै १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)