ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विपन्न बिरामीलाई सहज बन्दै नारायणी अस्पताल

२०७९ भदौ, १०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरीब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । संघीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि उपचारका लागि यहाँ बिरामी बढ्दै गएका छन् ।

अस्पतालले सिटीस्क्यान, डायलासिस र वृद्धवृद्धालाई उपचार खर्चमा सहुलियतलगायतका सेवा प्रारम्भ गरेपछि बिरामीको अस्पतालमा चाप बढ्दै गएको सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए । अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर जिल्ला र भारतको विहार क्षेत्रका बिरामी उपचारका लागि आउँछन् ।

अस्पतालमा दैनिक औसतमा एक हजार बिरामीले विविध रोगको उपचार सेवा लिन आउने गरेको अस्पताल प्रशासनले बताएको छ । नियमित उपचारमा आउने बिरामीमध्ये करिब १० देखि १५ प्रतिशतसम्म भारतीय बिरामी रहेको बताइएको छ ।

अस्पतालका तर्फबाट दुई सय र विकास समितिको तर्फबाट एक सय शय्यामा नियमित उपचार सेवा दिँदै आएको छ । अस्पताललाई विसं २०७५ असार २५ गते संघीय सरकारले मधेश प्रदेशमा विशिष्ट सेवा प्रदान गर्ने उद्देश्यले पाँच सय शय्याको रुपमा स्तरोन्नति गरिसकेको छ ।

उपचार सेवा थप प्रभावकारी बनाउँदै लगेपछि विशेष गरी गरीब र विपन्न समुदायका बिरामी बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए । मेडिकल, सर्जरी, दन्त, आँखा उपचार, छाला रोग, डायलासिस, नाक कान तथा घाँटी, मानसिक, प्रसूति, हाडजोर्नी, बाल रोग, शिशु स्याहार, मुटु रोगसम्बन्धी उपचार विभाग, सघन र अक्सिजनसहितको उपचार कक्षमार्फत बिरामीलाई अस्पतालले सेवा दिँदै आएको छ ।

अहिले अस्पतालले दिने सेवालाई थप प्रभावकारी बनाउन प्रशासनले सबैजसो सेवालाई उपचारको प्राथमिकताका आधारमा काम गरिरहेको बताएको छ । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको अस्पताल परिसर क्षेत्रमा चारओटा आवास, एक प्रसूति, प्रयोगशाला, भण्डारण, बहिरंग, आकस्मिक सेवा विभाग र एउटा पुरानो आँखा उपचार गरी कुल १३ भवन छन् । अस्पताललाई केन्द्रीय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजमा स्तरोन्नति गर्न माग गर्दै यस क्षेत्रका सरोकारवालाले पटकपटक संघीय सरकारसँग माग गर्दै आएका छन् ।

अस्पतालले सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गर्दै आएको छ । गरीब, असहाय, अपांगता भएका, ज्येष्ठ नागरिक, लैंगिक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा शहीद परिवारलाई सबै खाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा सिंहले जानकारी दिए । निःशुल्क उपचारले धेरै नगरिकलाई समयमै उचित उपचार सेवा दिन सहयोग पुगिरहेको डा सिंहको भनाइ छ । अस्पतालमा सरकारी एक सय ६२ र विकास समितिका एक सय २० स्वास्थ्यकर्मी कार्यरत छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)