ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक विवादका कारण बलानसेरमा अवस्थित देवीदह ओझेलमा

२०७९ भदौ, २१  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

भदौ २१, गोलबजार । सिरहा लहान नगरपालिका-१७ दौलतपुर बलानसेरमा अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा परेको छ । पूर्व-पश्चिम राजमार्गबाट करिब सात किलोमिटर उत्तरमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने बलान नदीको किनारामा रहेको छ ।

देवीदह सामुदायिक वन उपभोक्ता समूहमार्फत संरक्षणमा जुटेका स्थानीय बासिन्दाबीचको आन्तरिक विवाद कारण यस दहको संरक्षणमा ध्यान पुग्न सकेको छैन । अहिले दहभरि फोहर थुप्रिएको छ भने बिग्रिएको डुंगा त्यसै मिल्किएको छ । यसको कोष पनि रित्तिएको छ । दहसम्म पुग्ने मुख्य बाटो हिलाम्मे छ भने वनमारा झारले दहको डिल ढाकेको छ । 

दह घुम्न आएका भगवानपुर–४ का निराजन यादवलाई यहाँको अवस्था हेर्दा निकै चिन्तित बनायो । ‘पहिला हामी यहाँ घुम्न आउँदा मानिसको घुइँचो थियो,’ उनी भन्छन्, ‘दहको डिल सफा थियो तर अहिले झाडी उम्रेको छ र मुख्य आकर्षण डुंगा (नाउ) पनि चलेले छैन ।’ दैनिक ५०० पर्यटक पुग्ने देवीदहमा अहिले फाट्टफुट्ट मात्रै पर्यटक पुग्ने गरेको स्थानीय अरुण सिंहले बताए ।

देवीदहले करिब छ बिघा क्षेत्रफल ओगटेको छ । प्रथम राष्ट्रपति डा . रामवरण यादवको पालामा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमअन्तर्गत यस दहको सौन्दर्यीकरण गरिएको थियो । नेपाली सेनाले यस दहलाई २०७२ असार ३ गते देवीदह सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको थियो । दह सञ्चालनका विषयमा उपभोक्ता समूहका सदस्यबीच विवादका कारण यसको संरक्षणमा ध्यान जान सकेको छैन । देवीदह सञ्चालनसम्बन्धी समस्या समाधान गर्न स्थानीय सरकारले कुनै चासो नराखेको स्थानीयवासीको गुनासो छ । 

केही वर्षअघिसम्म लहान बजारमा आन्तरिक पर्यटकको गतिविधि बढाउन पनि यस दहको अहं भूमिका थियो । देवीदह नजिकै निस्कने पानीको मूलमा नुहाउँदा शरीरमा रहेको घाउ खटिरा निको हुने धार्मिक विश्वास रहिआएको पाइन्छ । वर्षैभरि निस्कने यस मूलको पानीलाई पछि व्यवस्थित गर्दै दह बनाइएको थियो । उक्त दहलाई नै पछि देवीदह भनी नामकरण गरियो ।

उचित संरक्षणको अभाव र कोभिड महामारीपछि पर्यटकको चहलपहल कम हुँदा यो ठाउँ निकै सुनसान बन्न पुगेको छ । यस दहमा सञ्चालन गरिएका चार ओटा डुंगामा बसेर पर्यटक मनमोहक दृश्यको आनन्द लिन पाउँदा निकै हर्षित हुन्थे । यहाँको प्राकृतिक वातावरणमा रमाउन भारतका विहारबाट समेत पर्यटक आउने गर्दथे । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)