जनकपुरधाम । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ । जग्गाको विषयमा स्थानीयले अदालतमा दायर गरेको मुद्दालगायत कारणले धनुषाको औरही र तिनकौरिया बजारमा सडक निर्माण प्रभावित भएको हो । पूर्व कमलाबाट पश्चिम जनकपुरधामसम्मको २७ किलोमिटर सडकमध्ये करीब २५ किलोमिटर निर्माण अन्तिम चरणमा पुगेको छ । यद्यपि बाँकी २ किलोमिटर सडकमा जग्गा विवादका कारण काम अघि बढाउन नसकिएको लामा रमण जेभीका इञ्जिनीयर सुनिल मुखियाले बताए ।
औरही बजारको इलाका प्रहरी कार्यालय अगाडिको जग्गा आफ्नो भन्दै स्थानीय रामबाबु साह सुडीले उच्च अदालत जनकपुरधाममा मुद्दा दायर गरेका छन् । सो मुद्दामा अदालतले मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएकाले समस्या भएको इञ्जिनीयर मुखियाले बताए ।
‘अदालतले सुडीलाई जग्गाको मुआब्जा दिएर मात्र सडक बनाउन आदेश दिएको छ,’ इञ्जिनीयर मुखियाले भने, ‘जग्गाको मुआब्जा उनलाई मात्र दिए अरू ठाउँको जग्गाधनीले पनि माग्छन् र विवाद हुन सक्छ ।’ समस्या समाधानका लागि पटक पटक भएको प्रयास असफल भएकाले सडक निर्माण प्रभावित भएको उनको भनाइ थियो ।
सडक निर्माणका लागि स्थानीयले जग्गा अधिग्रहण गर्न नदिने र सडक छेउमा कुलोबाटै सडक बनाउन दबाब दिँदै आएकाले सडक निर्माणमा समस्या भएको उनले बताए । सो क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले पनि चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको तिनकौरियाका स्थानीय बजारवासीको भनाइ छ ।
लामा रमण जेभी २०७८ चैत ३० गते स्तरोन्नतिको काम पूरा गर्ने गरी २०७३ असार ३१ गते सम्झौता गरेको थियो । सो मितिमा निर्माण सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरिएको छ । थपिएको म्याद २०७९ चैत ३० गते सकिनेछ । २०७८ चैत मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माणका क्रममा विभिन्न स्थानका बासिन्दाले जग्गाको विषयमा अदालतमा मुद्दा हाल्ने र विवाद सृजना गर्ने प्रवृत्तिले निर्माण अघि बढाउन नसकिएको इञ्जिनीयर मुखियाले बताए ।
यसैबीच, हुलाकी सडकअन्तर्गत सिरहाबाट सर्लाहीसम्मको करीब २३३ किलोमिटर सडकअन्तर्गत हालसम्म १५३ किलोमिटर सडकमा कालोपत्र सकिएको छ । बाँकी ८० किलोमिटर सडकमा पनि तीव्ररूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालयले बताएको छ । जनकपुरधामस्थित कदमचोकबाट कमला नदीसम्मको २६ किलोमिटर सडकमध्ये १८ किलोमिटर सडकमा कालोपत्र गरिएको र बाँकी ८ किलोमिटर पनि तीव्ररूपमा काम भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । यस्तै सप्तरी र सिरहाको सीमा छुट्ट्याउने बलान नदीबाट कमला नदीसम्मको सिरहा खण्डको ३० किलोमिटर सडकमध्ये २४ किलोमिटर कालोपत्र सकिएको र बाँकी ६ किलोमिटर सडकमा पनि केही दिनभित्रै कालोपत्र सकिने उनले बताए ।
सडक निर्माणको ठेक्का लिएको स्वच्छन्द रोशन महादेव खिम्ती जेभीले निर्धारित समयमै सक्नेगरी काम भइरहेको बताएको छ । दुई लेनको उक्त सडक कालोपत्र गर्न रू. १ अर्ब २० करोड २० लाखमा सम्झौता भएको कम्पनीका इञ्जिनीयर चन्द्र यादवले जानकारी दिए । रासस