गोलबजार । सिराहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्नेगरी कमला नदीमा झोलुङ्गे पुल निर्माण शुरू भएको छ । एक हजार पाँच सय मिटर लम्बाइको झोलुङ्गे पुल नेपालकै लामो भएको दाबी गरिएको छ । यसअघि सबैभन्दा लामो झोलुङ्गे पुल (एक हजार चार सय ५६ मिटर) कञ्चनपुरको दोधारा चाँदनीस्थित महाकाली नदीमा निर्माण गरिएको छ । तराई–मधेसको लाइफलाइन मानिएको हुलाकी सडकअन्तर्गत रहेको कमला पुल २०६८ सालमा निर्माण गर्न पप्पु कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्सले ठेक्का पाएको थियो । काम समयमा नसकेपछि उक्त कम्पनीविरुद्ध स्थानीयले आन्दोलन समेत गरेका थिए । त्यसपछि सपना–उमा एण्ड थानी जेभी बत्तीसपुतलीसँग रू. २१ करोड ५१ लाखमा पुल बनाउन गत असारमा सम्झौता गरिएको थियो । रासस