ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आत्मनिर्भर बन्दै थारू महिलाहरू

२०७९ भदौ, २४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

वीरगञ्ज (पोखरिया) । पर्साको जीराभवानीकी अन्तिममा चौधरीलाई आजभोलि एक छिन पनि फुर्सद छैन । उनी बिहानै उठेर जंगल जान्छिन् र काँस लिएर आउँछिन् । त्यसलाई सुकाएर विभिन्न रङ्गीन नुइला, डलिया, सुप्पा, टोपीलगायत सामग्री बनाउँछिन् । उनले बनाएका ती सामग्री चाडवाड, बिहेवारी, सगुन लगायत कार्यमा प्रयोगमा आउँछन् ।

बुनिएका विभिन्न घरायसी सामग्री थारू समुदायमा छोरीको विवाह वा गाउँलेको घरमा हुने बिहेवारी, पूजापाठ तथा आफन्तको विवाह/पूजापाठमा सगुनका रूपमा दिने प्रचलन छ । ‘यसले थारू समुदायको मौलिक पहिचान तथा संस्कृति झल्काउन मद्दत पुगेको छ,’ चौधरीले भनिन् ।

फुर्सदको समयमा आफ्नो परम्परागत शीपको उपयोग गर्दै घरायसी प्रायोजन र सजावटका विभिन्न सामग्री बुन्ने कामले आयआर्जन समेत हुन थालेपछि उनी एक छिन पनि फुर्सदमा देखिन्नन् ।

उक्त सामग्री बनाउन समय मात्र नभएर इच्छाशक्ति र अभ्यास पनि चाहिने उनको भनाइ छ । निरन्तरको अभ्यासपछि थारू समुदायका महिला यस्ता सामग्री बनाएर घरको सजावटका साथै विक्री गरेर जीविकोपार्जनतर्फ सक्रियरूपमा लागेका छन् । यस्ता सामग्रीमा राम्रो निखार ल्याउन सके बजारमा सजिलै विक्री हुने स्थानीय रागिनी चौधरी बताउँछिन् । काँसबाट ढकिया, नुइँया, डेलुवा तथा बाँस, जुटलगायतको प्रयोग गरेर पनि त्यस्ता सामग्री बनाउने गरिएको उनको भनाइ छ ।

थारू महिलाले बनाएका यस्ता सामग्रीलाई बजारको समस्या छैन । स्थानीय रञ्जु चौधरीले आकर्षक बनाउन सके घरबाटै सजिलै विक्री हुने बताइन् । उनका अनुसार छोरीको विवाहका लागि घर सजावट गर्न र गाउँघर आसपासका होमस्टे, होटलको सजावटका लागि यी सामग्रीको खोजी हुने गर्दछ ।

थारू समुदायका महिलाले परम्परागत रूपमा ढकियालगायत सामान बुन्दै आए पनि अहिले प्रचलनमा रहेका विभिन्न सजावटका सामग्री बनाउने शीप कमैमा रहेको पाइन्छ । राम्रो र आकर्षक डिजाइन दिन सके एउटै सामग्री रू. ५ हजारदेखि १० हजारसम्ममा पनि विक्री हुने गरेको चौधरीले बताइन् ।

थारू समुदायमा रहेका यस्ता मौलिक कला, शीप लोपोन्मुख बनेको अवस्थामा यहाँका अधिकांश महिलाको सक्रियतामा पुन: प्रवर्द्धन हुँदै छ । विभिन्न हस्तकलाका सामग्री निर्माण गर्ने कार्यले भाषा, संस्कृति र पहिचान जोगाउन मद्दत पुगेको छ । यसले आयआर्जनको विकल्प दिनुका साथै उनीहरूमा सशक्तीकरण पनि भएको सामाजिक अभियन्ता प्रकाश थारू बताउँछन् । जानेका महिलाले नजानेका आफ्ना सन्तान, आफन्त तथा साथीलाई सिकाउने गरेकाले शीपको हस्तान्तरण पनि भएको उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)