भदौ २५, वीरगञ्ज । बजारमा हेर्दा उस्तै देखिने नक्कली उत्पादनको बिगबिगी बढिरहेको छ । खाद्य तथा पेय पदार्थदेखि सौन्दर्य प्रसाधनसम्मका नक्कली उत्पादनबाट उपभोक्ता ठगिएका छन् । यस्ता उत्पादनबाट उपभोक्ताको हितमात्र होइन, स्वास्थ्यसमेत जोखिममा परेको छ ।
व्यापारीहरूले धेरैजसो यस्तो नक्कली काम बहुराष्ट्रिय कम्पनी र नाम चलेका उत्पादनको गरेको पाइन्छ । तर, केही स्वदेशी उद्यमी पनि यस्तो अस्वस्थ चलखेलमा लागेको भेटिएको छ । वीरगञ्जका एकजना चुइँगम उद्योगीले आफ्नो उत्पादनको नक्कल भएको गुनासो गरेका छन् । स्थानीय स्वीटमार्ट फुड इन्डष्ट्रिजका सञ्चालक निरञ्जन अग्रवालले आफ्नो उद्योगको ब्राण्डको नक्कल भएको बताए ।
विराटनगरको एक उद्योगले आफ्नो उत्पादनको नक्कल गरेर चुइँगम निकालेको अग्रवालको आरोप छ । अग्रवालको स्वीटमार्टले ‘सेल्टर फ्रुट’ ब्राण्डको चुइँगम उत्पादन गर्दै आएको छ । आफ्नो ब्राण्ड, प्याकेटको रङ नक्कल गरी झट्ट हेर्दा उस्तै देखिने गरी विराटनगरको पर्फेक्ट फुड्स प्रालिले ‘सेन्टर फिल्ज’ नामको चुइँगम बजारमा ल्याएको अग्रवालले बताए ।
पर्फेक्ट फुडले आफ्नो प्रतिलिपी अधिकार हनन् गर्नुका साथै नक्कली उत्पादन बजारमा पठाएर उपभोक्ताको हितविपरीत काम गरिरहेको आरोप अग्रवालको छ ।
पर्फेक्ट फुड्सका सञ्चालक आलोक राठी भने नियमानुसार चुइँगम उत्पादन गरेको दाबी गर्दछन् । ‘हामीले नियमानुसार उत्पादन गरेको हो । कसैलाई आफ्नो अधिकार हनन् भएकोजस्तो लाग्छ भने अदालत जान सक्छन्’, राठीले भने । पर्फेक्ट फुड्सविरुद्ध यसअघि नै एक भारतीय कम्पनीले ट्रेड मार्कसम्बन्धी विवादमा अदालतमा मुद्दा हालेको छ ।