राजविराज । वर्षौंदेखि जीर्ण रहेको राजविराज–सिरहा सडक खण्ड पुन:निर्माणको माग गर्दै स्थानीय युवाले सडक अवरोध गर्दै प्रदर्शन गरेका छन् ।
राजविराजको दशन चोकमा बाँसको लाठी लगाएर उनीहरू सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका हुन् । दशन चोकदेखि पश्चिम जोड्ने सखडा रोडसम्मको सडकको निर्माणको माग गर्दै राजविराज नगरपालिका–६ र ७ का युवाले बाटो अवरोध गरी प्रदर्शन गरेको स्थानीय युवा खेलानन्द दासले बताए ।
वर्षौंदेखि जीर्ण रहेको उक्त सडकमा वर्षाको पानीले गर्दा हिलाम्य भई सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुने गरेकाले अविलम्ब बाटो निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।
सडक निर्माणसँगै दशन चोकदेखि पश्चिम सिरहा सडकको वरिपरि रहेका अतिक्रमणसमेत हटाउन युवाले माग गरेका छन् । कार्यवाहक नगरप्रमुखले इसरत प्रविण दशन चोकदेखि सिरहा सडकखण्ड निर्माण कार्य चाँडै सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाएपछि स्थानीय युवाले अवरोध हटाएका थिए । राजविराजको दशन चोकमा बाँसको लाठी लगाएर करिब दुई/तीन घण्टा सडक अवरुद्ध गरिएको थियो । सो क्रममा सडकको दुवैपट्टि अतिक्रमण गरिराखेको संरचना हटाउन युवाले आग्रह गरेका थिए । रासस