ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुरको अस्तव्यस्त बसपार्क आधुनिक र नमूनाका रूपमा निर्माण गरिँदै

२०७९ असोज, १  
समाचार मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा नमूना बसपार्क निर्माण कार्य शुरू भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा हाल सञ्चालित जनकपुरधाम बसपार्क अस्तव्यस्त भएपछि सोही बसपार्कलाई आधुनिक सुविधायुक्त नमूना बसपार्क निर्माण गर्न लागिएको हो । 

उक्त बसपार्क निर्माण कार्यको गत असारमै शिलान्यास गरिएएको थियो । पछिल्लो समय धार्मिक पर्यटकको हब बन्दै गएको जनकपुरधाममा सुविधा सम्पन्न बसपार्क निर्माणकार्य अघि बढाएको संघीय आयोजना कार्यान्वयन इकाई जनकपुरधामका प्रमुख प्रदीप खनालले जानकारी दिए । 

‘अहिले बसपार्कको अवस्था अत्यन्तै नाजुक र जीर्ण छन्’, प्रमुख खनालले भने, ‘नगरको बढ्दो सहरीकरणलाई दृष्टिगत गरी सुविधायुक्त नमूना बसपार्क बनाउन लागेका छौँ ।’ निर्माण कार्यको ठेक्का सम्झौता भई काम शुरू भइसकेको प्रमुख खनालको भनाइ छ ।

संस्थाको स्वामित्वमा रहेको चार बिघा क्षेत्रमा निर्माण हुन लागेको बसपार्क निर्माणका लागि बोलपत्रमार्फत श्री नागार्जुन/हेम/सावित्री जेभी जनकपुरधाम-४ ले ठेक्का लिएको छ ।

भ्याटसहित कुल रू. १० करोड २८ लाख ६६ हजार चार सय ३९ को लागतमा निर्माण हुन लागेको बसपार्क आगामी १५ महिना अर्थात् २०८० पुस मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रमुख खनालले बताए । 

दुई चरणमा निर्माण गरिने बसपार्कभित्र प्रथम चरणमा सार्वजनिक शौचालय, टिकट काउन्टर तथा चमेनागृह, तीन वटा वेटिङ सेट, १२५ वटा बस स्थायी पार्किङ यार्ड, २५ वटा कार तथा ५० मोटरसाइकलको अस्थायी पार्किङ, १ दशमलव ५० मिटर चौडाइ र २ हजार २ सय मिटर लामो फुटपाथ निर्माण गरिने जनाएको छ । 

यस्तै बसपार्कभित्र डाइरिङ सिस्टमको दुई फिट व्यास, ८६० मिटर ह्युम पाइप राख्नुका साथै ८ हजार ८ सय १६ दशमलव शून्य ५ वर्गमिटरको आरसीसी पार्किङ यार्ड तथा आगमन-प्रस्थानका लागि ८ हजार ७ सय ४९ दशमलव १६ वर्गमिटरको सडक निर्माण र बसपार्कभित्र १६० वटा वृक्षरोपणसमेत गरिने योजना रहेको संघीय आयोजना कार्यान्वयन इकाइई जनकपुरधामका सूचना अधिकारी इन्जिनियर लक्ष्मण यादवले जानकारी दिए ।

यस्तै बसपार्क निर्माणको दोस्रो चरणमा पसल, रेस्टुरेन्ट, कार्यालय, आगन्तुक आवाससहितको बहुउद्देशीय चारतले भवन तथा ग्यारेज निर्माण गरिने योजना रहेको इन्जिनियर यादवले बताए । 

धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगरी जनकपुरधाममा नेपालसँगै छिमेकी मुलुक भारतको विभिन्न सहरबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लिएर आउने बस सोही बसपार्कबाट छुट्ने गरे पनि ठाउँ साँघुरो हुँदा पार्किङमा समस्या हुँदै आएको छ । पछिल्लो पटक आधुनिक र सुविधायुक्त बसपार्क निर्माण हुन थालेपछि बस व्यवसायी मात्र होइन, स्थानीयसमेत खुसी भएका छन् । 

‘व्यवस्थित बसपार्क नहुँदा बस पार्किङदेखि यात्रुहरूलाई समेत सास्ती भइरहेको थियो’, जनकपुरधाम उपमहानगरपालिका २३ निवासी मुना साहले भने, ‘अब ठूलो क्षेत्रफलमा आधुनिक सुविधासहितको बसपार्क बन्न लागेको छ, यसबाट यो समस्या समाधान हुन्छ भने हामीलाई विश्वास छ ।’ 

बसपार्क निर्माणसँगै बसपार्क क्षेत्रमा हुने अत्यधिक फोहोरमैलासमेत व्यवस्थापन हुने स्थानीयहरूले बताएका छन् । बसपार्क निर्माण भएपछि जनकपुरधामको आर्थिकसँगै पर्यटक विकासमा समेत योगदान पुग्ने जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्बुप्रसाद साहले बताए ।

‘पछिल्लो समय जनकपुरधाममा रेलसेवा सञ्चालन भएपछि यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ’, उपाध्यक्ष साहले भने, अब बसपार्क पनि निर्माण भइरहेको छ, यसबाट हामीलाई अझै उत्साहित बनाएको छ ।’ -रासस
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)