ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजारमा छैन दशैंको रौनक, मुख्य नाका नै सुनसान ! 

२०७९ असोज, २  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
वीरगञ्ज भन्सार नाका ।
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । अघिल्ला वर्षहरूमा ६ महीना अघिदेखि नै व्यापारीलाई दशैं लाग्थ्यो । चाडपर्वलक्षित मागलाई लक्ष्य गरेर उनीहरूले चैततिरै मालसामान ‘अर्डर’ गर्थे । चाडपर्वलाई चाहिने दैनिक उपभोग्य वस्तुमात्र होइन, लत्ताकपडादेखि गाडीसम्मका विलासी सामान किन्नेको भीड हुन्थ्यो, बजारमा । यसपालि भने दशैं आइसक्न लाग्दा पनि बजारमा कुनै किसिमको उत्साह नदेखिएको औसत व्यापारीको गुनासो सुनिन्छ । 

सरकारले आयातमा गरेको कडाइ र बैंकहरूको कर्जा लगानी असहज भएपछि बजार प्रभावित भएको बुझाइ व्यवसायीको छ । बारा–पर्सा उद्योग संघका उपाध्यक्षसमेत रहेका उद्यमी रमेश अग्रवाल बजार चरम मन्दीमा गइसकेको दाबी गर्छन् । उनी भन्छन्, ‘पोहोर परार भदौदेखि नै दशैंको किनमेल शुरू भइसक्थ्यो । यस वर्ष दशैं मुखैमा आइसक्दा पनि यसको संकेतसमेत देखिएको छैन ।’  

संघीय राजधानी काठमाडौंमा कपडाको पसलसमेत सञ्चालन गर्दै आएका अग्रवालले अघिल्लो वर्ष चाडपर्वका बेला दैनिक १ हजार ५ सयदेखि २ हजार ग्राहक पसलमा आउने गरेकोमा अहिले २०/२५ जना पनि पुग्न नसकेको सुनाए । 

सम्भावित आर्थिक संकटको आशंकामा अधिकांशले खर्च कटौती गरेकाले बजारमा माग घटेको उद्यमी सतीश चाचानको बुझाइ छ । कोरोना महामारीयता हरेक वस्तुको मूल्यवृद्धि र माग कटौतीले बजार नै असन्तुलित भएको चाचान बताउँछन् । ‘कोरोना महामारीयता सबैको आय घटेको छ । त्यसमाथि नियन्त्रणमुखी सरकारी नीति र संकटको हल्लाले गर्दा मानिसले अत्यावश्यकीय कुरामा मात्रै खर्च गरेका छन् । यसको प्रभाव बजारमा देखिएको हो,’ उनले आर्थिक अभियानसित भने । अघिल्ला वर्षहरूको तुलनामा कारोबार २० देखि २५ प्रतिशतमा झरिसकेको दाबी व्यवसायी गर्छन् । ‘बजारमा नयाँ माग छैन । पुरानो उधारोको भुक्तानीसमेत उठ्न सकिरहेको छैन । यस्तै हो भने व्यापार चक्र नै धरापमा पर्न सक्छ,’ नेपाली युवा उद्यमी मञ्चका निवर्तमान अध्यक्ष अनुप अग्रवालले भने । 

मुख्य नाका नै सुनसान ! 

बजारमा माग नै नभएपछि व्यापार सहजीकरणका सरकारी निकाय पनि फुर्सदिला देखिएका छन् । आयात निर्यात कारोबारका हिसाबले प्रमुख भन्सार नाका वीरगञ्ज यतिबेला सुनसान जस्तै छ । अघिल्ला वर्षहरूमा साउनदेखि नै भन्सारमा आयातकर्ता र तिनका प्रतिनिधिको भीडभाड बढ्थ्यो । यसपटक त्यस्तो भएन । दशैंको मुखमा अन्य समयभन्दा बढी सामान आयात हुनेमा यसपालि त्यस्तो नदेखिएको भन्सारका अधिकारी बताउँछन् । 

मालसमान छुटाउन आउने आयातकर्ता र प्रतिनिधिहरूको चहलपहल बढी हुने यो समयमा भन्सार सुनसानजस्तै भएको उनीहरूले सुनाए । 

एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह सञ्चालन र नियमन गरिरहेको निकाय नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी)ले यस वर्ष भन्सारमा चाडपर्वलक्षित व्यापारको रौनक नदेखिएको बताएको छ । समितिका वीरगञ्ज प्रमुख कमल ज्ञवालीका अनुसार अघिल्लो वर्षको तुलनामा चालू वर्ष २०७९/८० मा आधाभन्दा पनि कम मालसामान भित्रिएको छ । ‘गतवर्षभन्दा अहिले आयात स्वाट्टै घटेको छ । मालवस्तु बोकेर भित्रिने गाडीको संख्या नै घटेपछि भन्सारमा चहलपहल खस्किएको छ,’ उनले भने । गतवर्ष भदौमा दैनिक ७/८ सय गाडी मालसामान भित्रिने गरेकोमा यो संख्या घटेर अहिले ३/४ सयमा सीमित भएको समितिले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)