वीरगञ्ज । नेपालमा पछिल्लो समय तयारी छालाको उत्पादन गर्ने छाला उद्योग आर्थिक संकटमा परेका छन् । नेपाल छाला उद्योग संघका अनुसार नेपाली लगानीमा सञ्चालनमा रहेका १२ तयारी छाला उत्पादन गर्ने उद्योग आर्थिक संकटमा परेका हुन् । विशेषगरी नेपालमा उत्पादित तयारी छालाका सामग्रीले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा यस्ता उद्योगको व्यापार फस्टाउन नसकेको संघका केन्द्रीय महासचिव मोहम्मद जुनेद इफ्तखारले बताए ।
संघका अनुसार नेपालमा हाल नेपाली लगानीका छाला उद्योग १२ ओटा मात्रै सञ्चालनमा छन् । नेपाली बजारमा खसीबोका र राँगाभैंसीको छाला मात्र कच्चा पदार्थका रूपमा उपलब्ध हुने गर्छ । गाईगोरुको छाला तेस्रो मुलुकबाट आयात हुँदै आएको छ । नेपाली छाला उद्योगले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेको संघका महासचिव इफ्तखार बताउँछन् । नेपालमा हाल सञ्चालनमा रहेका १२ छाला उद्योगमध्ये आठओटा बारा र पर्सामा छन् भने बाँकी चार उद्योग विराटनगरमा सञ्चालनमा छन् ।
तेस्रो मुलुकबाट गाईगोरुको छाला (कच्चापदार्थ) भित्र्याउँदा महँगो पर्ने संघको भनाइ छ । छालाजन्य सामग्री प्रशोधन गर्न प्रयोग गरिने केमिकल (कच्चापदार्थ) तेस्रो मुलुकबाट ल्याउनुपर्दा लागत बढी हुने भएकाले उत्पादित सामग्रीले व्यापारमा प्रतिस्पर्धा गर्न नसकेको संघका मधेश प्रदेशका महासचिव विनोदकुमार चौधरी बताउँछन् ।
नेपाली बजारमा पाइने खसीबोका र राँगाभैंसीको छालाबाट सामान्य खालका जुत्ताचप्पल बनाइन्छ । गाईगोरुको छाला तेस्रो मुलुकबाट ल्याएर स्तरीय जुत्ताचप्पलसहित अन्य सामग्री उत्पादन गरिन्छ । संघका अनुसार नेपालमा वार्षिक करीब रू. पाँच अर्ब बराबरको जुत्ताचप्पलको कारोबार हुने गर्छ । रासस