वीरगञ्ज । मधेश प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लागू गरिएको छ ।
मधेश प्रदेशको यातायात व्यवस्था कार्यालय लाइसेन्स नारायणी र जनकपुरमा बुधवारदेखि यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो । मधेश प्रदेशमा लाइसेन्सको लिखित र ट्रायल परीक्षाका लागि निर्देशिका लागू गरिएको यातायात व्यवस्था कार्यालय नारायणीका निमित्त प्रमुख कमल गौतमले जानकारी दिए ।
यो निर्देशिका लागू भएपछि सामान्य त्रुटिले पनि लाइसेन्सको फेल हुने अवस्था अन्त्य हुने गौतमले बताए । यसअघि मधेश प्रदेशमा आवश्यक पूर्वाधार र जनशक्ति अभावलाई कारण देखाएर निर्देशिका लागू गरिएको थिएन ।
अब लाइसेन्सको लिखत र ट्रायल परीक्षालाई १०० अंकभार मानेर क्रमशः ६० र ७० अंक ल्याउने परीक्षार्थी पास हुने गौतमले बताए । ‘निर्देशिका लागू हुनुअघि एउटा सामान्य त्रुटिमा पनि परीक्षार्थी फेल हुने अवस्था थियो । यसले पटकपटक परीक्षा दिनुपरेको थियो । अब यो समस्याले निकास पाउने भएको छ’, उनले भने ।
निर्देशिका कार्यान्वनय भइसकेका प्रदेशमा परीक्षा दिएकामध्ये ६६ प्रतिशतभन्दा बढी परीक्षार्थी पास हुने गरेकोमा पुरानै मापदण्डमा १२ प्रतिशतमात्र पास हुँदै आएको यातायात व्यवस्था विभागको तथ्यांक छ ।
बारम्बार परीक्षा दिनुपर्ने बाध्यताका कारण कार्यालयहरूमा सेवाग्राहीको भिड लाग्ने गरेको र व्यवस्थापनमा समेत समस्या भइरहेकोमा अब यसमा समेत सहजीकरण हुने विश्वास यातायात व्यवस्था विभागको छ ।