ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गरीब बस्तीका महिलाहरू माटो बेचेर दशैँखर्च जोहो गर्दै, चुरेको रातोमाटो तराईमा विक्री

२०७९ असोज, ९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

महोत्तरी । दशैँ नजिकिँदै गर्दा महोत्तरीका गरीब बस्तीका महिला माटो बेचेर दशैँ खर्चको जोहो गर्दै छन् । दशैँपूर्व विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित परम्पराले अहिले गरीब बस्तीका महिला माटो बेचेर दशैँखर्चको जोहोमा लागेका हुन् । महोत्तरीका सबैजसो बस्तीमा अहिले माटो संग्रह गर्नु महिलाको मुख्य रोजगारी बनेको छ ।

अहिले बस्तीबस्तीका महिला १०/२० जनासम्मको समूहमा माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का पुग्ने गरेका छन् । दशैँमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेंलो र रातो माटोको माग हुने भएपछि गरीब बस्तीका ग्रामीण महिला अहिले विभिन्न रङका माटो संग्रहमा लागेका हुन् ।

मधेशका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दशैँ, तिहार र छठअघि माटोले पोतेर रङ्ग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरीब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् ।

अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पहाड क्षेत्रका रातो माटोका थुम्का भएका छन् । ‘कमेरे र पहेंलो चिम्टाइलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चाहिँ चुरे नै पुग्नुपर्छ’, सखारै १० जनाको समूहमा रातो माटो खन्न १५/१६ किलोमिटर छिचोलेर बर्दिबास-३ को चुरे थुम्को पुगेका भंगाहा नगरपालिका-६ हतिसर्वाका महिला समूहकी पानवती चौधरीले भनिन्, ‘यही मेहनतले आफ्नो घर पोत्न र दसैँ खर्चको नगद जोहो गर्न माटो लगिन्छ ।’

रातो माटो एक बोरा (४० किलो) घर पुर्‍याउनसके आफ्नो घर पोतेर १/२ हजार नगद पनि थैलीमा राख्न पाइने यी महिलाको सपना छ ।

सोह्र श्राद्ध (पितृपक्ष) सकिनासाथ दशैँ शुरू भइहाल्ने हुँदा अहिले घरका परिवारजनको समेत सहयोग लिएर गरीब बस्तीका महिला माटो ठम्याउने, खन्ने र ओसार्ने काममा व्यस्त छन् । ‘हेर्नोस् न, दशैँ आई त हाल्यो, अहिले अलिकति मिहिनेत गरे त दुई/चार पैसाको मुख देख्न पाइने हो नि !’ आफ्नै बस्ती नजिकको रातु नदीको डिलमा कमेरे माटो खोस्रिँदै भेटिएकी भंगहा–४ रामनगरकी रसिया चौधरीले भनिन्, ‘कमेरो र पहेंलो माटो त यतै ओरपर खोज्दा पाइन्छ तर रातो माटो लिन त १५/१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ ।’ 

मधेसका खासगरी थारू बस्तीमा अहिले माटो संग्रहको होड छ । थारू महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् । ‘हेर्नोस् न, हाँस÷कुखुरा र परेवा पनि घरघरैजसो पालैकै हुन्छन् तर थारू बस्तीका घर पुग्दा भुइँमै बसौँबसौँ लाग्ने चिटिक्क देखिन्छ’, भंगाहा–४ थारूटोल बनराका बासिन्दा ७५ वर्षीय केदार ढुंगेल भन्छन्, ‘घर सरसफाइ, रङरोगन र सजावटमा थारू महिला सधैँ उम्दा देखिन्छन् ।’

दशैँको मुखमा थारू महिलाको साथीसंगतले अन्य जाति समुदायका गरीब महिला पनि अहिले माटो संग्रहमा लागेका छन् । दशैँको मुखमा माटो जम्मा गर्नसके मेलापर्वमा रमाउन र घरमा बालबच्चाको खानपिनको रहर पुर्‍याउन सहयोग पुग्ने भंगाहा–४ कै पलार बस्तीकी सियनकीदेवी सर्दार बताउँछिन् । मधेशका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ ।

प्रत्येक वर्षको दशैँअघि घर पोत्ने अनिवार्य चलनले गरीब बस्तीका महिला २/४ रुपैयाँ आर्जन गर्न अहिले माटो संग्रहमा लागेका छन् । माटो आफूहररूका लागि दशैँखर्चको नगद जोहोको अवसर बनेको यस काममा लागेका महिला बताउँछन् ।  -रासस
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)