ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाराको टाँगियाबस्तीमा बल्यो बिजुली

२०७९ असोज, १०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा बिजुली पुगेको छ । प्रस्तावित निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीबासी अँध्यारोमा बस्न बाध्य थिए । नेपाल विद्युत् प्राधिकरणको करीब २ करोड ३४ लाख रूपैयाँ लगानीमा लाइन पुर्‍याएर शनिवारबाट टाँगियाबस्तीमा बत्ती बालिएको हो । टाँगियाबस्तीमा १ हजार ४७६ घरधुरी छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जासचिव, प्राधिकरणका सञ्चालकहरू, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित उच्चस्तरीय टोलीले गत फागुनमा टाँगियाबस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेको थियो । टोलीले टाँगियाबस्तीलाई अँध्यारोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणपूर्व गरिने स्थानान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)