ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक मर्मत नहुँदा दशैंको यात्रा सास्तीपूर्ण, राजमार्गमा खाल्डैखाल्डा, 'सडक टाल्न सम्भव छैन'

२०७९ असोज, १०  
समाचार यातायात विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar हिमा वि.क.

काठमाडौं । दशैं नजिकिँदै गर्दा मुख्य राजमार्गदेखि सहायक राजमार्गसम्म यात्रु तथा सवारीसाधनको ‘मुभमेन्ट’ बढ्दो छ । असोज १ गतेदेखि दशैंका लागि अग्रिम बुकिङ खुला भएसँगै गन्तव्यमा पुग्न यात्रुले टिकट लिन शुरू गरिसकेका छन् । तर, घर अर्थात् गन्तव्यमा पुग्न यसपालि पनि सहज नहुने देखिएको छ ।

दशैंमा लाखौं मानिस उपत्यकाबाहिर जाने र अधिकांशले सडकमार्ग नै रोज्ने भएकाले सकडमा बढी चाप पर्ने गरेको छ । तर, राजधानी काठमाडौंबाट बाहिरिने मुख्यमुख्य सडकको अवस्था भने राम्रो छैन । काठमाडौंबाट पश्चिम लाग्ने मुख्य नाका नागढुंगाबाट ओरालो लागेपछिको नौबीसे शुरू हुँदादेखि नै यात्रा असहज बन्न थाल्नेछ । एकातिर वर्षा अझै नसकिएको र अर्कातिर अर्बौं रुपैयाँ लगानीका सडक विस्तार तथा स्तरोन्नतिका योजना कार्यान्वयन चरणमा रहेकाले यसपालि पनि दशैंका यात्रुले सास्ती झेल्नुपर्नेछ । 

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड पनि उस्तै छ । यो राजमार्गमा बढी मानिस तथा सवारीको आवतजावत हुने भए पनि सडकको अवस्था भने राम्रो छैन । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले यो वर्ष दशैंका लागि सडक मर्मत गर्न सम्भव नभएको बताए । ‘खासगरी दशैं नजीक हुँदा र मौसम विभागको सूचना हेर्दा अझै पानी पर्ने अवस्था छ,’ थापाले भने, ‘पानी पर्दा काम गर्न सहज नहुने अवस्था एकातिर छ भने अर्काेतिर ठूला र साना लागत भएका दुवैखाले सडकमा निर्माण व्यवसायीले राम्रोसँग काम गरेका छैनन् ।’

तर, पहिरोका कारण अवरुद्ध हुने राजमार्गमा भने यातायात सहज गराउन विभाग तयारी अवस्थामा रहेको उनको भनाइ छ । तत्काल खाल्डाखुल्डी सम्याएर सडकको अवस्था सुधार्न सकिने अवस्था नभएको भन्दै उनले पहिरोबाट अवरुद्ध हुने सडक भने दशैं (टीका)को दिन पनि सफा गरेर यातायात सुचारू गरिने बताए । यद्यपि सडक टालेर दुरुस्त बनाउन सम्भव नभएको उनको भनाइ छ । दशैंका यात्रुले वर्षेनि सडक सास्ती झेल्दै आए पनि राजमार्गहरू दुरुस्त राख्न विभाग पछि पर्दै आएको छ ।

विभागका महानिर्देशक थापाले स्वदेशी व्यवसायीले लिएका ठेक्कामा वर्षौं लाग्ने र विदेशी व्यवसायीले पनि समयमै काम नगरिदिँदा चेपुवामा परेको बताए । अहिले राजमार्गका मुख्यमुख्य खण्डमा सडक विस्तार तथा स्तरोन्नतिको काम अधिकांश विदेशी अर्थात् चिनियाँ निर्माण व्यवसायीले पाएका छन् । तर, चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएको मुख्य नारायणगढ–बुटवल सडक खण्ड नै निर्धारित समयमा सम्पन्न भएको छैन । 

‘८ अर्ब रुपैयाँदेखि १६ अर्ब रुपैयाँ लागत सडकका ठेक्कामा विदेशी निर्माण व्यवसायी छन्,’ थापाले भने, ‘करोड लगानीका ठेक्कामा स्वदेशी छन्, काम गराइको प्रवृत्ति भने खासै फरक छैन । विदेशीले काम गर्न सकेनन् भने स्वदेशीले दशकसम्म सडक जीर्ण बनाएर राखेका छन् ।’ कारबाही गर्न पनि नसकिने अवस्था रहेको भन्दै उनले थपे, ‘माननीय, मन्त्री, प्रदेश सांसद्हरू नै ठेकेदार हुँदा कारबाहीको दायरामा ल्याउन कठिन भएको छ ।’

मझौला तथा ठूला सडकको हकमा ससानो रकममा बोलपत्र निकालेर ठेक्का लगाउँदा समयमै सकिने र छिटो पनि हुने भनिए पनि स्वदेशी निर्माण व्यवसायले दशक नाघ्दासम्म सडक नै नबनाई बसेका उदाहरण धेरै छन् । यसले गर्दा दशैंमा मात्रै नभई सामान्य समयमा पनि सडक यात्रा कठिन हुने गरेको सरोकारवाला बताउँछन् । विभागका अनुसार पूर्वतर्फका सडकमा भने धेरै खण्डमा समस्या देखिएको छैन । मध्यपहाडी राजमार्गको विभिन्न खण्ड, खोटाङ–दिक्तेल, भोजपुर र हलेसीदेखि माथिल्लो उकालो भेगमा भने यात्रा सहज नभएको विभागले उल्लेख गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)