ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुलाकी सडक : सिरहा–धनुषा–सप्तरी खण्डमा ९० प्रतिशत कालोपत्र

२०७९ असोज, ११  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सिरहा । हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा–सप्तरी खण्डमा करीब ९० कालोपत्र भएको छ । यस खण्डको अन्तिम चरणको काम बाँकी छ । घनाबस्ती हुँदै गएको यस क्षेत्रमा हुलाकी सडकलाई स्थानीयको लाइफलाइन मानिन्छ । तर सडक कालोपत्रको कामले गति लिए पनि कमला नदी र सिरहामा पर्ने गागनलगायत केही खोलामा पुल निर्माण पूरा नहुँदा तीनओटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ । पुल बनेमा राजविराजबाट सिरहा हुँदै जनकपुरधामसम्म सीधा यातायात सञ्चालन हुनेछ ।

हुलाकी सडक सुक्खायाममा धुलाम्मे र वर्षामा हिल्लामे हुने गरेकोमा कालोपत्र भएपछि यो समस्या हटेको छ । सडक निर्माणले सप्तरीमा बोदे बर्साइन बजार, डिमन, पथरगडा, अर्नाहा, चन्ही चोक, सिरहामा भगवानपुर, सोनवर्षा, बरयारपट्टी, औरही, सनहैठा, धनुषामा कमला, तीन कोरिया, लगमा, सघरा, औरही, भेल लगायत क्षेत्रका बासिन्दाको दिनचर्या सहज बनेको छ ।

हुलाकी सडकमा पर्ने बजारको विकास भएसँगै ग्रामीण क्षेत्रका बासिन्दाको जीवनस्तर उकासिएको छ । ठूला लगानीका पसल थपिएको छ । किनमेल गर्न लहान जानुपर्ने अवस्थाको अन्त्य भएको भगवानपुर गाउँपालिकाका जयनारायण यादवले बताए । सिरहाको बरियारपट्टी बजारको स्वरूप यति बेला फेरिएको छ । बजारको स्वरूप फेरिएसँगै त्यहाँका स्थानीयवासीमा उत्साह बढेको छ । ‘पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाना भएका साना पसल मात्र थिए,’ बरियारपट्टीका शंकर साहले भने, ‘तर अहिले सडक फराकिलो भएसँगै ठूलठूला पक्की भवन र ठूलो लगानीका पसल खुलेका छन् ।’

सप्तरीका बलान बिहँुल गाउँपालिका–२ चन्ही चोकमा १२ वर्षअघि निकै सस्तोमा पाइने जग्गाको भाउ अहिले आकासिएको स्थानीय रामशंकर भण्डारीले बताए । ‘सडक पूर्ण रूपमा तयार भयो भने जग्गाको भाउ अझै बढ्ला,’ स्थानीयवासी प्रमेश्वर दासले भने ।

यस क्षेत्रमा पुल निर्माण सम्पन्न हुनेबित्तिकै सडकमा गाडी चल्न थाल्छन् । यसले ग्रामीण बस्तीमा आर्थिक गतिविधि समेत बढाउने नेरुडे लघुवित्त सनैहठा शाखामा कार्यरत हेमन्थ यादवले बताए ।

यद्यपि कतिपय ठाउँमा पुल निर्माण यातायात सञ्चालनमा नहुँदा समस्या भएको छ । सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भत्किएको एक वर्ष भन्दा बढी भइसक्दा पनि पुनर्निर्माण भएको छैन, जसकारण अस्थायी पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुरधाम पुग्न करीब ४५ मिनेट लाग्छ । तर, राजमार्ग भएर जनकपुरधाम पुग्न झण्डै तीन घण्टा लाग्छ ।

पुलको पूर्वमा सिरहा नगरपालिका र पश्चिममा धनुषाको कमला नगरपालिका पर्छ । कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ सालमै पप्पु लुम्बिनी बिल्डर्सले रू. २४ करोड ९१ लाखमा ठेक्का लिएको थियो । तर पप्पुले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो । गतवर्षको असारमा पहिलो पुल हस्तान्तरणका लागि निर्माण कम्पनीले तयारी गरिरहँदा बाढीले पुल भत्कियो । सरकारले पुल पुनर्निर्माण गर्न निर्देशन दिए पनि निर्माण कम्पनीले काम शुरू गरेको छैन ।

यस्तै सिरहाको औरही गाउँपालिका–५ गागन नदीमा हीराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्स्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुलको निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी निराश बनेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)