वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखी इजाजत प्राप्त हतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णअनुसार प्रशासनले यस्तो सूचना निकालेको हो । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था मिलाउनका लागि यस्तो निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।
आगामी कात्तिक ५ गतेभित्र यस्ता हतियार नबुझाए कानूनअनुसार कारवाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ । बुझाइएका हतियार सुरक्षित राखिने र निर्वाचन सकिएको एक हप्ताभित्र हतियाधनीलाई नै फिर्ता गरिने पनि उनले बताए ।