ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ अर्बको दशैं अर्थतन्त्र : मुलुकलाई चलायनमान बनाउन मद्धत

२०७९ असोज, १७  
समाचार मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जनकपुरधाम(धनुषा) । नेपालीको महान चाड दशैंलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका यहाँका बजार क्षेत्रमा यस वर्ष भने पुनः वस्तु वा सेवा खरीदविक्री गर्नेको भिडभाड दोहोरिएको छ ।     
     
 दशैंले छोपिएको यतिबेला मधेस प्रदेशको राजधानी जनकपुरधामको बजारसहित देशभरिकै बजारमा हरेक वर्ष झैं चहलपहल बढेको छ । किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, हल्का पेय पदार्थ, मोवाइल, टेलिभिजन, कपडा धुने मेसिन, फ्रिजलगायत विद्युतीय उपकरणका पसलहरुमा किनमेल गर्नेहरुको भीड अत्याधिक देखिएको छ । वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल/ रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।     
     
 दशैं र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न छूटका कार्यक्रमहरु सार्वजनिक गरिरहेका छन् । उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दशैंमा उपभोग हुने अनुमान गरिन्छ ।

लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनोविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशिर्वाद लिने दसैँ पर्वमा मानिसले धक फुकाएर खर्च गर्छन् । यसले बजारमा बहार ल्याउने र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने अर्थशास्त्रका विज्ञहरु बताउँछन् । जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका उज्ज्वल दाहाल वर्षभरि हुने घरायसी खर्चको एकतिहाइ दशैंमा खर्च हुने गरेको बताउँछन्।

उनले उद्योगी व्यवसायीले दशैं, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छूटका कार्यक्रमहरुसहित ग्राहकलाई लोभ्याउने गरेको बताए।  ‘दशैंको व्यापारले वर्षभरिको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ’, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ भन्छन् ।

टिकाउ वस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायतका खरीदकर्तालाई दशैंको बेला दिइने छूट नै पर्खेर बस्ने बानी लागिसकेको उनको भनाइ छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल/ रेस्टुरेन्टले दशैं लक्षित प्याकेज विक्री गर्न थालेका छन् ।     
     
 दशैंले बजारलाई गुलजार बनाउने भएकाले फूलपाती अघिसम्म विक्रेताले छूट र उपहारका विविधि योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेको हुँदा हरेक बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दशैं केन्द्रित किनमेलको चाप बढ्दो छ ।

दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको दाहाल बताउँछन् । रोजगारी वा अध्ययनका लागि नेपाल बाहिर रहेका व्यक्तिहरु पनि दशैं मनाउन आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महीनाको तलब एकै महीना खर्च गर्छन् ।

यसले पनि दशैंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ । सरकारले दशैंको अवसर पारेर आफ्ना कर्मचारीलाई एक महीनाको तलब दिने गर्दछ भने अन्य सङ्घसंस्था, बैंक तथा वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरुले पनि कर्मचारी, कामदारलाई केही खर्च दिने गरेका छन् । यतिबेला बजारमा पैसा चलायमान हुने भएकाले दशैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ ।     
     
 दशैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरीदमा छूट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो । ‘पहिले पनि दशैं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दशैं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन् ।

कतिपयमा यही समयमै खरीद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ’, अर्थशास्त्री डा लाभले भने पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दशैंको समयमा विदेशबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स) भएको अर्थशास्त्रीहरु बताउँछन् । विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महीनाको तुलनामा दशैंमा करीब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार औषतमा दशैंताका करीब १०/ १५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन ।

भारतमा हजारौंको सङ्ख्यामा नेपाली कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।  अर्थविद्हरुका अनुसार दशैंअघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दशैं, तिहार र छठ पर्वसम्म बजारमा करीब ५ अर्ब रुपैयाँको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा लाभको भनाइ छ ।

खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ । दशैंअघिको समयमा मात्र अन्य समयको १० महीना बराबर व्यापार हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)