ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हुलाकी सडक सञ्चालनले बढाउँदै शहरीकरण

२०७९ असोज, २४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सिरहा । सिरहा–धनुषा–सप्तरी खण्डमा करीब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएसँगै त्यस क्षेत्रमा शहरीकरण तीव्र रूपमा हुन थालेको छ । सडकमा कालोपत्र भएपछि प्रत्येक किलोमिटरमा नयाँ चोक निर्माण भएको छ भने कतिपय पुरानो बजारले नयाँ स्वरूप लिएका छन् भने कतिपय सुनसान बनेका छन् ।

सप्तरीमा बोदे बर्साइन बजार, डिमन, पथरगडा, अर्नाहा, चन्ही चौक सिरहामा भगवानपुर, सोनवर्षा, बरयारपट्टी, औरही, सनहैठा र धनुषामा कमला, तिनकोरिया, लगमा, सघरा, औरही, भेललगायत बजार क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको छ ।

शहर विस्तारसँगै सडक क्षेत्रको जग्गाको मूल्य आकाशिएको छ । सप्तरीका बलान बिहुल गाउँपालिका–२ चन्ही चोकमा १२ वर्षअघि प्रतिकठ्ठा रू. एक लाख ५० हजार पर्ने जग्गा ४० लाख रुपैयाँमा कारोबार भइरहेको स्थानीय रामशंकर भण्डारीले बताए । यस्तै कमला नगरपालिका वडा–४ सघरा बजार १५ वर्षअघि प्रतिकठ्ठा रू. एक लाखमा पाइने जग्गा अहिले ६० लाख पर्न थालेको स्थानीय पमेश्वर दासले बताए । विदेह नगरपालिका–६ तिनकौरिया बजारमा पनि १२ वर्षअघि रू. ५० देखि ६० हजारमा पाइने एक धुर जग्गा अहिले रू. १३ लाखसम्ममा विक्री हुन थालेको स्थानीय किशोर मण्डलले जानकारी दिए ।

मधेशको समृद्धिको संवाहक मानिएको यो सडक सुक्खा मौसममा धुलाम्मे र वर्षात्मा हिल्लाम्मे हुने गर्दथ्यो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी सडकमा पर्ने बजारको विकास भएसँगै ग्रामीण जनताको जीवनस्तर पनि उकासिएको छ ।

बजार विस्तारसँगै स्थानीय उपभोक्तालाई किनमेल गर्न सहज भएको छ । किनमेल गर्न लहान जानुपर्ने अवस्थाको अन्त्य भएको भगवानपुर गाउँपालिकाका जयनारायण यादवले बताए । ‘पहिला–पहिला बजार क्षेत्रमा साँघुरो सडक र फुसको छाप्रो, त्यहीँभित्र स–साना पसल हुन्थ्यो,’ बरियारपट्टीका शंकर साहले भने, ‘तर अहिले सडक फराकिलो भएसँगै ठूलठूला पक्की भवन र डिपार्टमेन्ट स्टोरहरू खुलेका छन् ।’

सडक कालोपत्र गरिए पनि कतिपय ठाउँमा पुलको निर्माण सम्पन्न हुन नसक्दा सडक सञ्चालनमा आउन सकेको छैन । कमला, गागनलगायत केही नदीमा पुल निर्माण पूरा नहुँदा तीनओटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेका छन् ।

सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भत्किएको एक वर्षभन्दा बढी भइसक्दा पनि पुनर्निर्माण भएको छैन । यसले गर्दा अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुरधाम पुग्न करीब ४५ मिनेट लाग्छ । तर, राजमार्ग भएर जनकपुरधाम पुग्न झण्डै तीन घण्टा लाग्छ । राजमार्गको दूरी लामो, गाठीको चाप भएकाले धेरै मानिस जनकपुरधाम पुग्न हुलाकी सडक नै रोज्छन् ।

कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ सालमै पप्पु लुम्बिनी बिल्डर्सले २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । केही काम गरेर सो कम्पनीले छाडेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो । एक वर्षअघि असारमा पहिलो पुल हस्तान्तरण गर्ने निर्माण कम्पनीले तयारी गरिरहँदा २०७८ असार १७ गते सामान्य बाढीले खम्बा भासियो र ढलानसमेत खस्यो । सरकारले पुल पुनर्निर्माण गर्न निर्देशन दिए पनि ठेकेदार कम्पनीले वास्ता गरेको छैन ।

हुलाकी सडक आयोजना जनकपुरधामका प्रमुख इञ्जिनीयर कृष्ण महतोले भने, ‘ठेक्का लिएकै कम्पनीले पुनर्निर्माण गर्छ । वर्षायाममा अर्को डिजाइन तयार पार्ने र हिउँदबाट काम शुरू गर्ने भनेको थियो । अब काम सुरू हुन्छ ।’ यस्तै सिरहाको औरही गाउँपालिका–५ गागन नदीमा हिराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्स्ट्रक्सनले पुल निर्माण गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम कछुवा गतिमा हुँदा स्थानीयवासी निराश बनेका छन् । सिरहामा बलान पुलदेखि कमला पुल २९ दशमलव ८८ किलोमिटर, सप्तरीमा कञ्चनरुपदेखि बलान पुलसम्म ३२ किलोमिटर, धनुषामा कमला पुलदेखि जनकपुरधामसम्म २७ किलोमिटर हुलाकी सडक खण्ड पर्दछ । राष्ट्रिय महत्त्वको यस आयोजना लामो समयसम्म सम्पन्न नहुँदा तराई–मधेश क्षेत्रको आर्थिक विकासले गति लिन सकेको छैन । रासस

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)