ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय नीतिको प्रभाव : स्वदेशी तेल उद्योग क्षमताको २० % मा खुम्चिए

२०७९ असोज, २४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । भारतले तेलको बजार मूल्य नियन्त्रणमा राख्न तेल भित्र्याउँदा लाग्ने सीमा शुल्क घटाएलगत्तै नेपालबाट हुने निर्यात स्वाट्टै घटेको छ । यसले स्वदेशका ३० ओटा तेल उद्योगको करीब १५ अर्ब रुपैयाँ लगानी संकटमा परेको उद्यमीहरूले बताएका छन् । 

भारतले अर्धप्रशोधित तेल आयातमा ४० प्रतिशतसम्म सीमा शुल्क लगाउँदा स्वदेशी उद्योगले त्यस्तो तेल तेस्रो मुलुकबाट ल्याएर प्रशोधन गरी भारततर्फ खानेतेल निर्यात गरेका थिए । स्वदेशी उद्योगले युक्रेन, इन्डोनेशिया र मलेशियाबाट अर्धप्रशोधित तेल ल्याएर यहाँ प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए ।

नेपाल र भारतबीचको आयात महसुल अन्तर र निकासी सहुलियतको लाभ स्वदेशी उद्योगले लिएका थिए । यस्ता उद्योगले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्ट) सहुलियतमा शून्यदेखि ५ प्रतिशतसम्म सीमा शुल्क तिरेर निर्यात गर्दै आएका थिए । 

निकासी गरेपछि कच्चा पदार्थ आयात गर्दा नेपाली भन्सारमा तिरेको १० प्रतिशत महसुल र मूल्य अभिवृद्धिकर पनि उद्यमीले फिर्ता पाउँथे । कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण उत्पन्न परिस्थिति र सम्भावित खाद्यान्न संकटलाई ध्यानमा राखेर भारत रणनीतिक उपायमा उत्रिएपछि नेपालबाट हुने निकासी प्रभावित भएको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानले बताए । 

भारत निकासी सहज हुँदा अधिकांश उद्योगले क्षमता विस्तार गरेका थिए । केही नयाँ उद्योग पनि आए । अहिले स्वदेशी उद्योगको उत्पादन क्षमता करीब २५ लाख टन हाराहारी छ । योमध्ये ५ लाख टन जति स्वदेशमा खपत हुन्छ । अरू परिमाण निकासी हुँदै आएकोमा अब निकासी कठिन बन्दै गएको छ । अहिले यस्ता उद्योग क्षमताको १५ देखि २० प्रतिशतमा चलेको उद्यमीहरू बताउँछन् । 

भारतले तेलको बजार मूल्य कम गर्न आयातमा लगाइएको शुल्क घटाउँदै २ दशमलव ५ प्रतिशतमा झारिसकेको छ । यतिमात्र होइन, त्यहाँको चालू आर्थिक वर्ष (आव) २०२२/ २३ र आगामी वर्ष २०२३/२४ का लागि २०/२० लाख मेट्रिक टन भटमास र सूर्यमुखीको अर्धप्रशोधित तेलमा आयात र कृषि पूर्वाधार विकास कर पूर्णरूपमा हटाइएको छ । 

यी २ आर्थिक वर्षमा भारतमा ८० लाख टन अर्धप्रशोधित तेल शून्य शुल्कमा भित्रिनेछ । यसको सीधा असर नेपालबाट हुने तेलको निकासीमा देखिएको ओसीबी फुड्स एन्ड फिड्सका सञ्चालक सुरेश रुंगटाले बताए । तेल निकासी हुने मुख्य नाका वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आव २०७९/ ८० को पहिलो २ महीनामा गत आवको सोही अवधिको तुलनामा प्रशोधित तेलको निकासी उल्लेख्य मात्रामा घटेको छ । 

प्रशोधित पाम तेल गत आवको साउन र भदौमा २ करोड ९८ लाख लिटर निर्यात भएको थियो । यो वर्ष उक्त अवधिमा ९६ लाख लिटरमात्र निकासी भएको छ । 

गतवर्ष भटमासको तेल ४ करोड ७० लाख किलोग्राम निर्यात भएकोमा यो वर्षको सोही अवधिमा ३५ लाख किलोग्राममात्र छ । त्यस्तै पोहोर ५७ लाख ९६ हजार लिटर सूर्यमुखी तेल भारतीय बजारमा गएकोमा यो वर्षको २ महीने अवधिमा १ लाख ९९ हजार लिटरमात्र गएको छ । नेपालको निर्यात व्यापारमा तेलको मुख्य योगदान थियो । तेल निकासी प्रभावित भएपछि व्यापारघाटा अझ बढ्ने रुंगटाले दाबी गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)