जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुरू भएको जनकपुरधाम महोत्सव २०७९ मा सर्वसाधारणको घुइँचो लागेको छ । कोरोना महामारीका कारण सुस्ताएको स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले सियाइभेन्टको आयोजनामा जनकपुरधाम उद्योग वाणिज्य संघको हाताभित्र शुरू भएको महोत्सवमा सर्वसाधारणको आकर्षण देखिएको हो ।
असोज २३ गतेदेखि शुरू भएको महोत्सव आगामी शनिवारसम्म चल्नेछ । महोत्सवमा राखिएको नेपाली उत्पादनका साथै बंगलादेश, पाकिस्तान, भारत र चीनका विभिन्न सामानप्रति दर्शकको आकर्षण बढेको महोत्सव आयोजक समितिका संयोजक राकेश महतोले जानकारी दिए । ‘नेपालीसँगै विदेशी कपडा र सामानप्रति उपभोक्ताको आकर्षण बढेको देखिएको छ,’ उनले भने, ‘महोत्सवमा अहिले दैनिक पाँच सयदेखि सात सयसम्म अवलोकनकर्ता आउने गरेका छन् ।’
अवलोकनकर्ताको चापलाई दृष्टिगत गरेर महोत्सवमा ३२ ओटा विक्रीकक्ष राखिएको संयोजक महतोले बताए । महोत्सवमा राखिएका बंगलादेशी कपडाप्रति धेरैजसो अवलोकनकर्ताको आकर्षण रहने गरेकोे आयोजकको भनाइ छ ।
रू. दुई हजारदेखि २५ हजारसम्मको बंगलादेशी साडीलगायत कपडा महोत्सवमा राखिएको र पाकिस्तानी छालाबाट बनेका सामान पनि महोत्सवमा आउनेहरूले मन पराइरहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
महोत्सवमा महिला तथा पुरुषका लागि विभिन्न प्रकारका कपडा, जुत्ता, छालाका सामान तथा अन्य प्रकारको दैनिक प्रयोगका सामानको विक्रीकक्ष राखिएको छ । बाहिर बजारमा पाउनेभन्दा महोत्सवमा सस्तो तथा गुणस्तरीय सामान पाइने भएकाले महोत्सवमा सर्वसाधारणको भीड बढेको बताइएको छ । रासस