सप्तरी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि सप्तरीको राजविराजमा बिहीवार नमूना मतदान गरिएको छ । बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोगी समाजले नमूना मतदान गरेको जानकारी दिइएको छ ।
यौनिक तथा लैंगिक अल्पसख्ंयकहरूको महासंघ नेपालका कार्यक्रम संयोजक सिमरन शेरचनले विभिन्न जिल्लामा नमूना मतदान र साक्षरता कार्यक्रमअन्तर्गत राजविराजमा कार्यक्रम गरिएको बताए । बदर मत कम गर्न र मतदानको महत्त्व बुझाउन प्रशिक्षणसँगै ‘नमूना मतदान’ अभ्यास गराएर सहभागीलाई गाउँघरमा सचेतना फैलाउन निर्देशन दिइएको उनको भनाइ छ ।
नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउन, मतदाता परिचयपत्र रुजु गराउन, मतदान अधिकृतको हस्ताक्षर रुजु गराउन, गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन, मतपत्र पट्याउन र मतपेटिकामा मत खसाल्न सिकाइएको थियो । प्रत्येक मतदाताले चारओटा मतपत्रमा आफूले रुचाएको उम्मेदवार र दललाई मत खसाउन सिकेको सहभागी खडक नगरपालिका–६ की नन्दनी चौधरीले बताइन् । पहिलो हुने निर्वाचित हुनेतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र र समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र गरी चारओटा मतपत्रमा एक–एकओटा चुनाव चिह्नमा मतदान गर्नुपर्ने सिकेको कञ्चनरूप नगरपालिका–५ का विवेक विकले बताए ।
सहजकर्ता सविन बुढाथोकीले प्रतिनिधिसभा र प्रदेशसभाको गठन, मतदानको महत्त्व, मनोनयन, मतदान र मतगणना प्रक्रिया, सदर र बदर मतका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणपश्चात् प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गराइएको हो । नमूना मतदानमा सहभागी ४० जनामध्ये पहिलो हुने निर्वाचित हुने मतदानमा तीन जनाको मत बदर भएको र समानुपातिकमा शतप्रतिशत मत सदर भएको स्थानीय परिचालक रोशन चौधरीले जानकारी दिए । रासस