ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मधेस प्रदेशका ४ लाखभन्दा बढीले गराए स्वास्थ्य बीमा

२०७९ कार्तिक, १  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जनकपुरधाम । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा मधेश प्रदेशका चार लाखभन्दा बढी व्यक्ति आबद्ध भएका छन् । मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज पौडेलले स्वास्थ्य बीमाअन्तर्गत मधेस प्रदेशका ४ लाख १२ हजार ९९४ जनाले बीमा गराएको जानकारी दिए । 

विसं २०७४ माघ २५ गतेदेखि मधेस प्रदेशमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेश प्रदेशका ६२ लाख जनसंख्यामध्ये करीब सात प्रतिशतले स्वास्थ्य बीमा गराएको प्रमुख पौडेलले बताए । उनका अनुसार मधेश प्रदेशमा २ लाख १० हजार ७१४ पुरुष र २ लाख २ हजार २८० महिलाले स्वास्थ्य बीमा गराएका छन् ।

जिल्लागत रूपमा सबैभन्दा बढी सिरहामा १ लाख ५ हजार ४०० जनाले बीमा गराएका छन् भने सबैभन्दा कम सर्लाही जिल्लामा २३ हजार ६५५ जनाले बीमा गराएको बीमा बोर्ड प्रादेशिक कार्यालयले जनाएको छ ।

सिरहामा अति विपन्न समूहमा पर्ने १ हजार ८१४ जनाले बीमा गराएका छन् । मधेश प्रदेशका सरकारी तथा निजी गरेर आठ ओटै जिल्लामा ४८ वटा स्वास्थ्य संस्थाले बीमा गर्ने गरेको प्रमुख पौडेलले बताए । गरीबी, अशिक्षा र प्रचार–प्रसारको कमीलगायतका कारणले यस प्रदेशमा थोरै जनसंख्याले मात्र स्वास्थ्य बीमा गराएको प्रमुख पौडेलको भनाइ थियो ।

त्यस्तै स्वास्थ्य बीमा गराएकाहरूले पनि पुनः दर्ता नगराउने, स्वास्थ्य बीमा गराएका व्यक्तिहरूले पनि उपचार नपाउनेजस्ता कारणले बीमाप्रति सर्वसाधारणको रुचि नबढेको प्रमुख पौडेलले बताए ।

नेपालको संविधान २०७२ मा गुणस्तरीय स्वास्थ्य सेवा पाउनु आम जनताको मौलिक हकका रूपमा रहेकाले स्वास्थ्यमा आम जनताको पहुँच बढाउने उद्देश्यले सरकारले स्वास्थ्य बीमालाई ठूलो प्राथमिकतामा राखेको छ ।

विसं २०७४ माघ २५ गते मधेश प्रदेशको महोत्तरी जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरेर अहिले प्रदेशको आठ ओटै जिल्लामा सो कार्यक्रम लागू रहेको उनले बताए । -रासस
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)