ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दाजुभाइलाई ‘बजरी’ खुवाएर मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

२०७९ कात्तिक, १०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् तिहारको छैटौं दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ । 

सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा ६ दिनको भएको छ । दिनमा तिथिको भोग घटबढले यसपालि ६ दिनको यमपञ्चक परेको हो । 

भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गर्छन् । यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै पाइन्छ । सत्ययुगमा राजा बलिका बहिनी गंगा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरंगी टीका लगाइदिएको कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा. राजेन्द्र विमल बताउँछन् । 

मैथिल परम्पराको ‘भैयादुज’ पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन छ । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुने गरिन्छ । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरंगी टीका लगाइदिने मैथिल परम्परा छ । 

मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गंगा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन् । यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चबाउन दिइन्छ ।  ‘बजरी’ ख्वाइने भनिने यो विधिमा साह्रो न साह्रो केराउलाई बज्रसँग तुलना गरेर बजरी भनिएको डा. विमलको भनाइ छ । ‘बजरी’ ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको डा विमल बताउँछन् । यो विधि सकिएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखी दिन्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् ।

मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने तीन पर्व परम्परा चलेका छन् । साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरंगी डोरा ‘राखी’ बाँधीदिने र यमपञ्चक अर्थात् तिहारको कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा बलि र उनका दिदीबहिनी गंगा–यमुना नै हुन् । कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व भने द्वापरयुगकालीन भगवान् श्रीकृष्णका पुत्र साम्ब र छोरी सामाबीच दाजुबहिनीको प्रेमपूर्ण स्नेह, समर्पण र त्यागको कथावस्तुमा आधारित भएको डा. विमलको भनाइ छ । 

पछिल्ला वर्षहरूमा मिथिलाका मूल बासिन्दा र यहाँ बसोबास गर्न आएका अन्य जाति, धर्म, परम्परा र संस्कृतिका विभिन्न समुदायबीच सांस्कृतिक घुलमिलले चाडवाड साझा बन्दै गएका छन् । पर्वते हिन्दू परम्पराको भाइटीका र मैथिल परम्पराको भैयादुज मनाउन दिदीबहिनी र दाजुभाइ मानेर फरक–फरक परम्पराका युवापुस्ता एकसाथ पर्व मनाउन थालेका छन् । आपसी सद्भाव वृद्धि र सामाजिक, सांस्कृतिक एकताको जग मजबुत बनाउन यसले सहयोग पुर्याइरहेको पाका मैथिल बताउँछन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)