ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरू

२०७९ कात्तिक, १३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जलेश्वर । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व शनिवारदेखि शुरू भएको छ । यो पर्व पञ्चमीदेखि शुरू भई १० दिनसम्म चल्छ । एघारौं दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरूले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्छन् ।

आजको दिन बिहानै दिदीबहिनीहरूले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन् । सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरू भरेर रङ्गीचङ्गी बनाइन्छ । रङ्गिसकेको सामा चकेवा राति रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म नाचगान गर्दै चेलीबेटीहरूले सामा चकेवा खेल्छन् ।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीहरू ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ लगायत गीतहरू गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबै दाजुभाइको दीर्घायुको कामना गर्छन् । एघारौं दिनमा बिहानै दिदीबहिनीले पुन: सामा चकेवा बनाएर रङ्गरोगन गरी बेलुका दही चिउरा खुवाउँछन् र त्यसबाटै दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर बाजागाजासहित नाचगान गर्दै गाउँको नजिक जोतिएको खेतमा लगेर विसर्जन गर्छन् ।

मिथिलाञ्चलकी हरेक दिदीबहिनीहरूले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमा गएर मनाउने इच्छा गर्ने भएकाले टाढाटाढाका  दिदीबहिनीहरू पनि माइत जाने गर्दछन् । अन्य पर्वजस्तै  भाइबहिनीको प्रेमको प्रतीक मानिएको यस  पर्वमा दाजुभाइ तथा दिदीबहिनी हुनेहरूका लागि निकै महत्त्वपूर्ण मानिन्छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले टोल छिमेकका दाजुभाइ तथा दिदीबहिनीहरूसँग मनाउने गर्दछन् ।

सामा चकेवा खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीहरूप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरूप  महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लाहरूमा यो पर्व लोकप्रिय छ । मिथिलाञ्चलमा छठ पर्वको सन्ध्याकालीन अघ्र्य दिनुभन्दा एक दिन अघिदेखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीहरूले जोरजाम गर्ने गर्दछन् । यस पर्वमा स–साना नानीहरू बढी उत्साहित हुने गर्छन् भने उमेर नाघेका महिलासमेत पर्वमा रमाउँछन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)