वीरगञ्ज । तराईमा निकै निष्ठा र भक्तिभावपूर्वक सूर्य उपासनाको पर्वको रुपमा मनाइने छठको आइतवार ‘सझियाघाट’को तयारी भइरहेको छ ।
आइतवार छठ पर्वको मुख्य दिन हो ।कात्तिक शुक्ल चौथीदेखि शुरू हुने यो पर्व षष्टीमा तिथिलाई विशेष मानिन्छ । सूर्यलाई अर्घ्य दिन तयार पारिएको जलासय (छठघाट) मा आज साँझ श्रद्धालुहरूले सूर्यको विशेष पूजाआराधाना गर्दछन् ।
षष्टीको दिनमा निराहार व्रत बसेका व्रतालुले साँझमा जलासयमा पुगेर पूजा गरी सूर्यलाई अर्घ्य दिन्छन् । आइतवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका भक्तजनले सप्तमी तिथि (सोमवार) बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ ।
चौथीका दिन ‘नहाय–खाय’ गरेका भक्तजनले त्यसको भोलिपल्ट शनिवार ‘खरना’ गरेका थिए । सूर्य उपासनाको यो पर्वको पहिलो दिन व्रतालुहरूले व्रत संकल्प गर्दछन् । यो दिन स्नान गरेर चोखो खाने भएकाले ‘नहाय–खाय’ भनिएको हो । दोस्रो दिन पञ्चमीमा दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खान्छन् । यसलाई स्थानीय भाषमा ‘खरना’ भनिन्छ ।
छठ पर्व कृषि र समुदायप्रति समर्पित पर्व हो । ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको गहुँ र चामलको पीठोबाट बनाइएका ठेकुवा, भुसुवा, मिष्टान्न, माटोको भाँडामा जमाइएको दही, उखु, फलफूललगायतका पूजा सामग्री तयार गरिन्छ ।
छठका लागि स्थानीय सीप र स्रोतमा आधारित बाँसको नाङ्लो, ढाकी, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, केरा, उखु, भोगटे, कागती, सखरलगायतका सामग्री प्रयोग हुन्छन् ।
यो पर्वलाई समाजका सम्भ्रान्त र गरीव तथा सबै समुदाबीच आपसी सद्भाव सहकार्य अभिवृद्धिको पर्वको रुपमा लिइन्छ । छठमा व्यापार तथा रोजगारीमा गएकाहरू पनि आआफ्नो घर फर्किने भएकाले यसलाई पारिवारिक मिलनको अवसरको रुपमा पनि लिइन्छ ।
आर्थिक अवस्था कमजोर भएकाहरूले पनि अरूसँग मागेरै भए पनि पूजा गर्ने र त्यसका लागि सक्नेले सहयोग गर्ने प्रचलन छ । सबैले नदी किनार वा तलाउमा बनाइएको पूजास्थलमा भेला भएर आराधना गर्दछन् । मधेसको वीरगञ्ज र जनकपुरमा छठको तयारी र सजावटलाई विशेष मानिन्छ ।
वीरगञ्जको घरिअर्वा पोखरीको सजावट र व्यवस्थापनमा मात्र १६ लाख रुपैयाँ खर्च हुने छठ पूजा व्यवस्थापन समितिका संयोजक हिरालाल साह कानूले जानकारी दिएका छन् ।
स्थानीय अन्य नदी, पोखरी र तलाउहरूको सरसफाई गरी सिंगारिएको छ ।केही वर्षयता पहाड र तराईका मुस्लिम समुदायले पनि छठ पर्व मनाएको पाइन्छ । काठमाडौंको रानीपोखरीलगायतका जलासय, मकवानपुरको राप्ती नदीको किनारलगायतका स्थानमा पनि छठ पूजा हुने गरेको छ ।