ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

२०७९ कात्तिक, १४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सप्तरी । नागरिक समाजका अगुवाले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न जोड दिएका छन् । राजविराजमा शनिवार राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा नागरिक समाजका अगुवाले आचारसंहिता पालना गर्न आग्रह गरेका हुन् । उनीहरूले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव पनि दिए ।

मतदाता शिक्षाबारे ध्यान नपुग्दा मत बदर हुने अनुपात बढ्ने र आचारसंहिता उल्लङ्घनले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्नेतर्फ ध्यान दिन सहभागीले आग्रह गरे । निर्वाचन निष्पक्ष र लोकतान्त्रिक हुनका लागि मतदाताले आफ्नो अधिकार र जिम्मेवारी बुझ्न सक्ने हुनुपर्ने उनीहरूको भनाइ थियो ।

आचारसंहिता पालनामा राजनीतिक दल र उम्मेदवार प्रतिबद्ध हुनुपर्ने भन्दै नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले निर्वाचन आयोगले चुनाव अवधिभर कानून र आचारसंहिता पालना गराउन दृढ हुनुपर्ने बताए । आचारसंहिता उल्लङ्घनकर्तालाई कारबाही नहुँदा उल्लङ्घनका घटना बढ्दै गएको उनले बताए ।

निर्वाचन क्षेत्रका मतदाता प्रभावित गर्न आश्वासन बाँड्ने, पदीय लोभ दिएर पार्टी प्रवेश गराउने काम शुरू भएको भन्दै स्थानीय नागरिक अगुवा वैद्यनाथ झाले सबै पेशाका व्यक्ति राजनीतिक दलमा आबद्ध हुने गलत परम्पराका कारण कर्मचारीसमेत चुनाव प्रचारमा लाग्ने गरेको बताए ।

ज्येष्ठ नागरिक सङ्घ सप्तरीका अध्यक्ष शिवहरि भट्टराईले चुनावी खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई तिर्नै नसक्ने जरीवाना तोकेर निर्वाचन आयोग स्वयंले कानून पालना नहोस् भन्ने चाहेको आरोप लगाए । चेतनास्तर विकाससँगै कानूनलाई बलियो बनाउँदै जानुपर्ने, अन्यथा कानून पालना गर्न/गराउन नसकिने उनको भनाइ थियो ।

इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सहमतिमा बनेको आचारसंहिता पालनामा दलीय नेतृत्वका पात्रहरू ‘रोल–मोडल’ बन्नुपर्नेमा बहकिएको आरोप लगाउँदै नागरिक समाज, अधिकारकर्मी र सञ्चारकर्मीले निगरानी गरिरहेको बताए । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले मतदाता शिक्षा र आचारसंहिता पालना नगरे पनि हुन्छ भन्ने मानसिकता देखिएको बताए । सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष हितनारायण लाल दास र गैसस महासंघ सप्तरीका अध्यक्ष बलदेव मण्डलले गर्भवती, सुत्केरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अल्पसङ्ख्यक तेस्रो लिङ्गीलाई निर्वाचनस्थलमा विशेष ध्यान दिनुपर्ने बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)