वीरगञ्ज । तराईमा कडा निष्ठा र भक्तिभावपूर्वक मनाइने सूर्य उपासनाको पर्व छठ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुँदै छ । यसअघि छठको मुख्य दिन आइतवार साँझ श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
सूर्यलाई अर्घ्य दिन जलाशय (छठघाट)हरूलाई निकै सिँगारिएको हुन्छ । षष्टीको दिनमा निराहार व्रत बसेका व्रतालुले साँझमा जलाशयमा पुगेर पूजा गरी सूर्यलाई अर्घ्य दिएका छन् ।
यो पर्व कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमी तिथिसम्म (चार दिन) मनाउने गरिन्छ । पहिलो दिन ‘नहाय–खाय’ गरेका भक्तजनले त्यसको भोलिपल्ट ‘खरना’ गर्दछन् ।
ढिकी–जाँतोमा परम्परागत तरीकाले कुटिएको गहुँ र चामलको पीठोबाट बनाइएका ठेकुवा, भुसुवा लगायत मिष्ठान्न, माटोको भाँडामा जमाइएको दही, उखु, फलफूललगायत वस्तु पूजा सामग्रीको रूपमा प्रयोग गरिन्छ । बाँसको नाङ्लो, ढकी, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, केरा, उखु, भोगटे, कागती, सखरलगायत वस्तु पनि छठमा प्रयोग हुन्छ ।
मधेशको वीरगञ्ज र जनकपुरमा हुने छठको तयारी र सजावटलाई विशेष मानिन्छ । स्थानीय अन्य नदी, पोखरी र तलाउहरूको सरसफाइ गरी जलाशयमा छठको पूजा गरिन्छ ।
केही वर्षयता पहाड र तराईका मुस्लिम समुदायले पनि छठ पर्व मनाएको देखिन्छ । काठमाडौंको कमलपोखरी, बागमती किनार लगायत जलाशय, मकवानपुरको राप्ती नदीको किनार लगायत स्थानमा पनि छठ पूजामा भक्तजन र दर्शनार्थीको भीड लाग्ने गरेको छ ।