ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्सा–१ : गठबन्धनका उम्मेदवारलाई ‘बागी’को डर

२०७९ कात्तिक, २२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यतर्फको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । वीरगञ्ज महानगरका १९ ओटा वडा समेटिएको यो क्षेत्रमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ११ जनाको स्वतन्त्र उम्मेदवारी छ । 

उम्मेदवारहरू आआफ्नो पक्षमा मत माग्न मतदाताका घरदैलो चहारिरहेका छन् । मुख्यरूपमा सत्ता गठबन्धतर्फबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लक्ष्मणलाल कर्ण, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी तालमेलबाट जसपाका प्रदीप यादव र नेपाली कांग्रेसले टिकट नदिएपछि सत्ता गठबन्धनको ‘बागी’ बनेर स्वतन्त्र उम्मेदवारी दिएका अजयकुमार द्विवेदीको चर्चा बढी छ । 

प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारले जितको दाबी गरिरहेका छन् । तर, सत्ता र विपक्षी गठबन्धन दुवैले द्विवेदीलाई मुख्य प्रतिस्पर्धी मानेका छन् । विगतमा नेपाली कांग्रेसको सभापतिसमेत रहेका द्विवेदी एकपटक संविधानसभा सदस्य र त्यसअघि वीरगञ्ज महानगरको उपमेयर रहिसकेका छन् । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस र विपक्षी गठबन्धनका असन्तुष्टको सहयोगमा द्विवेदीले बाजी मार्ने हुन कि भन्ने आशंका उनीहरूलाई छ । 

कर्ण र यादवको चुनावी प्रचारप्रसार र अभिव्यक्तिलाई हेर्दा दुवै जनालाई द्विवेदी पराजयको कारण बन्ने डरले घेरेको देखिन्छ । गठबन्धनमा रहेका कांग्रेसी भोट द्विवेदीलाई जाँदा आफू कमजोर हुने भय कर्णलाई छ भने एमाले–जसपा गठबन्धनका यादवलाई पनि त्यस्तै त्रास देखिन्छ । 

अन्तिम समयमा आएर एमालेसँग चुनावी तालमेल गरेको जसपाभित्र प्रदीपलाई नरुचाउने र जसपा तालमेलमा आएपछि टिकट खोसिएका र असन्तुष्ट बनेका एमालेका स्थानीय नेता कार्यकर्ताको सहयोग द्विवेदीले पाउने भयमा प्रदीप छन् । तर, सबै उम्मेदवारले आफू निर्वाचित हुने दाबी भने छोडेका छैनन् ।  

आफू सधैं जनताको बीचमा रहेको र सांसद हुँदा थुप्रै काम गरेकाले यसपटक पनि जित्ने प्रदीपको दाबी छ । उनी २०७४ मा पर्सा १ बाटै सांसद चुनिएका थिए । 

गत स्थानीय चुनावमा सत्ता गठबन्धनबाट जसपाले वीरगञ्ज महानगरको मेयर जितेको थियो । पर्सा–१ मा पर्ने १९ वडामध्ये जसपाले ८, एमालेले ६, कांग्रेसले ४ र लोसपाले एउटा वडामा जितेका थिए । 

यसअघि २०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. ४ मा मधेशवादी गठबन्धनबाट सांसद चुनिएका कर्ण यसपटक क्षेत्र फेरेर १ मा आएका हुन् । उनी सत्ता गठबन्धनका सबै दलको सहयोग रहेकाले आफ्नो जित निश्चित भएको बताउँछन् । ‘म गठबन्धनको उम्मेदवार हुँ । यसअघि म सांसद हुँदा पनि विकासका धेरै योजना ल्याएको छु । यो क्षेत्रको विकासका लागि नीतिगत प्रबन्धका काम गरेको छु,’ कर्णले भने । 

टिकट नपाएको झोकमा स्वतन्त्र रूपमा मैदानमा उत्रिएका द्विवेदी आफ्नो जित निश्चित भएको दाबी गर्छन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता र मतदाताको भोट पाउनेमा उनी विश्वस्त देखिन्छन् । ‘अहिले मप्रति देखिएको जनलहर र मतदाताको समर्थन नै मेरो जितको आधार हो,’ द्विवेदीले आर्थिक अभियानसित भने । 

सत्ता गठबन्धनमा रहेको कांग्रेसका केही स्थानीय नेता र कार्यकर्ता द्विवेदीको पक्षमा खुलेरै लागेका छन् । जसपाभित्रको बेमेल र एमाले–जसपा गठबन्धनले निम्त्याएको असन्तोषलाई उपयोग गर्ने रणनीति पनि द्विवेदी पक्षधरको देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)