वीरगञ्ज । नेपाल र सिंगापुरका उद्योगी व्यापारीबीच आपसी लगानी तथा प्रविधि प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी भएको छ ।
सिंगापुर भ्रमणका रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी र सिंगापुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीबीच मंगलवार यस्तो समझदारी भएको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले जानकारी दिए ।
अध्यक्ष गुप्ताको नेतृत्वमा गएको उद्यमीहरुको टोलीले त्यहाँका उद्यमीसँग आपसी व्यापारिक गतिविधि प्रवद्र्धन गर्ने, व्यापार प्रवद्र्धनमा द्विदेशीय निजीक्षेत्रलाई सहजीकरण गर्ने समझदारी भएको हो । समझदारी पत्रमा संघका अध्यक्ष गुप्ता र सिंगापुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री अध्यक्ष चिउ बून थोङले हस्ताक्षर गरेका छन् ।
व्यापार व्यवसायसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने, संयुक्त लगानी तथा साझेदारी व्यापारलाई प्राथमिकता दिने, प्राविधिक विशेषज्ञको व्यवस्था गर्ने, दुवै संस्थाले व्यापारिक उद्देश्यका लागि दुवै राष्ट्रको भ्रमण गने समझदारी भएको गुप्ताले बताए ।
वीरगञ्जका उद्यमी सिंगापुर र भियतनामको भ्रमणका गएका छन् । भ्रमण ती देशले अंगिकार गरेको विकास रणनीतिबाट नेपालले कसरी लाभ लिन सक्दछ भन्ने सन्दर्भमा प्रभावकारी हुने दाबी गुप्ताको छ ।