जलेश्वर । महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका–११ छोडके गाउँका मतदाताले गाउँमा बाटो निर्माणको प्रतिबद्धता गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् । जिल्लाकै दुर्गम उक्त क्षेत्रबाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल तीन पटक निर्वाचित भएर पटक पटक मन्त्री समेत भए । तर, गाउँमा अहिलेसम्म सडक बनेको छैन ।
यहाँका स्थानीयवासी आधारभूत सेवाबाट समेत वञ्चित हुँदै आएका छन् । गाउँमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्तीलगायतको सुविधा छैन । स्थानीय मतदाता डम्बर लामाले निर्वाचनमा विजयी उम्मेदवारले यहाँको विकासमा ध्यान दिन नसकेको गुनासो गरे । बर्दिबासको खयरमाराबाट पारि रहेको यस क्षेत्रमा बर्दिबासबाट बसमा डेढ घण्टा तथा पैदल पाँच घण्टामा पुगिन्छ । यहाँका मतदातालाई बिहानबेलुका छाक टार्न धौधौ छ । ‘मीठो खाने र राम्रो लगाउने त सपना मात्र हो,’ स्थानीय सोमबहादुर स्याङतानले भने ।
यस बस्तीमा पुग्न धेरै खोला तर्नुपर्ने बाध्यता छ । वैकल्पिक मार्गसमेत छैन । यहाँका नागरिक शिक्षा, स्वास्थ्य र रोजगारीका लागि अन्यत्र जानुपर्छ । तीन सय परिवारका आठ सय ६४ मतदाता रहेको सो गाउँमा प्रत्येक निर्वाचनमा सडक, स्वास्थ्यचौकी, अस्पताल, खानेपानीलगायतका सुविधा उपलब्ध गराउने आश्वासन दिन्छन् । तर चुनाव जितेपछि भने उम्मेदवार बस्तीमा नआएको यहाँका मतदाताको गुनासो छ । रासस