वीरगञ्ज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा प्रभावकारी बनाउन वीरगञ्ज नाका बन्द गरिएको छ ।
स्थानीय प्रशासनले बिहीवार मध्यरातदेखि नेपाल भारत सिमाना सील गरेपछि यो नाकामा रहेका ३ ओटा भन्सार पनि बन्द भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सूचना निकालेर निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बनाउन ७२ घण्टाका लागि सीमाबाट सबै प्रकारको आवागमन बन्द गरिएको बताएका छन् ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार सीमा सील भएसँगै आयातनिर्यात पनि रोकिएको छ । साविकको वीरगञ्ज भन्सार, आईसीपी र सुक्खा बन्दरगाह भन्सारबाट शुक्रवारदेखि मालबस्तुको आयातनिर्यात रोकिएको हो ।
नेपालका लागि आएका ढुवानीका साधन भारतीय क्षेत्रका सडकमै लाम लगाइएको छ । सरकारले चुनावका लागि आइतवार र सोमवार २ दिन सार्वजनिक बिदा दिएकाले भन्सार कार्यालयहरू मंगलवार (मंसिर ६ गते) देखि खुल्ने बरुवालले बताए ।
सीमानाकाबाट अन्य अवागमन भने मतदान सकिएकै दिन आइतवार मध्यरातपछि खुल्ने प्रशासनको सूचनामा उल्लेख छ ।