जनकपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेश प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजित भए भने कतिपयले अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । धनुषामा सबैभन्दा बढी ६ जना पूर्वमन्त्री पराजित भएका छन् ।
धनुषाको क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव अघिल्ला प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित भए । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट यादव २६ हजार ४१८ मतले विजयी हुँदा कार्कीले १७ हजार २९६ मत पाएका थिए ।
यस्तै धनुषा क्षेत्र नं २ मा चुनावी प्रतिस्पर्धामा रहेका तीन पूर्वमन्त्रीमध्ये पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण यादव निर्वाचित भए भने पूर्वमन्त्री उमाशंकर अरगरिया र रामचन्द्र झा पराजित भए । २०७४ सालको निर्वाचनमा अरगरिया निर्वाचन हुँदा झा र यादव पराजित भएका थिए । धनुषा क्षेत्र नं ३ मा पूर्वमन्त्री तथा लोसपा नेता अनिलकुमार झा पराजित भए ।
पूर्वमन्त्री तथा नेकपा एमाले नेत्री जुलीकुमारी महतोसँग झा पराजित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । धनुषाको क्षेत्र नं ४ मा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ दोस्रोपटक विजयी हुँदा पूर्वमन्त्री तथा कांग्रेसका सहमहामन्त्री महेन्द्रयादव पराजित भए । सोही क्षेत्रको प्रदेशसभामा चुनाव लडेका पूर्वराज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता शत्रुधन महतो पनि एमालेका नेता हरिनारायण महतोसँग पराजित भए ।
धनुषामा ६ जना पूर्वमन्त्री पराजित हुँदा छिमेकी जिल्ला सिरहामा पनि चार जना पूर्वमन्त्रीले पराजय बेहोर्नुपरेको छ । सिरहा क्षेत्र नं १ मा पूर्वमन्त्री तथा कांग्रेस नेता पदमनारायण चौधरी एमालेका रामशंकर यादवसँग पराजित भए । सिरहा क्षेत्र नं २ मा पूर्वमन्त्री तथा कांग्रेस नेत्री चित्रलेखा यादव पराजित भइन् ।
सिरहा क्षेत्र नं ३ मा चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा एमाले नेता लीलानाथ श्रेष्ठ निर्वाचित हुँदा अर्का पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साह पराजित भए । सिरहा क्षेत्र नं ४ मा पूर्वमन्त्री धर्मनाथ साह पनि फराकिलो मतान्तरले पराजित भए । सो क्षेत्रमा जसपाका डा. वीरेन्द्रप्रसाद महतो २३ हजार १०२ मतले विजयी भए भने तेस्रो स्थानमा रहेका पूर्वमन्त्री साहले १४ हजार ६५३ मत मात्र पाए ।
उम्मेदवारी दर्तादेखि मतगणनासम्म सर्वाधिक चासोको रूपमा रहेको सप्तरी क्षेत्र नं २ मा पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भए । जनमत पार्टीका अध्यक्ष डा. राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुँदा जसपा अध्यक्ष यादवले १६ हजार ९७९ मत प्राप्त गरे ।
सो क्षेत्रको प्रदेशसभा क्षेत्र नं २ मा चुनाव लडेका पूर्वमन्त्री तथा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादव आफ्नै पूर्वसहकर्मीबाट पराजित भए । उम्मेदवारी मनोनयनपत्र दर्ता हुनुअघि नेकपा (माओवादी केन्द्र) छाडेर जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका महेशप्रसाद यादवले पूर्वमन्त्री यादवलाई पराजित गरे ।
गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित भई मन्त्रीसमेत भइसकेका हेमराज तातेडले यसपटकको प्रदेशसभा सदस्य निर्वाचनमा भने आफ्नो जमानतसमेत जोगाउन सकेनन् । कांग्रेसले टिकट नदिएपछि सप्तरी क्षेत्र नं १ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएका तातेडले ९९२ मत मात्र प्राप्त गरे । सो क्षेत्रबाट एमालेका राजकुमार लेखी १४ हजार २९१ मतले विजयी भए ।
महोत्तरीमा पनि दुईजना पूर्वमन्त्री पराजित भए । महोत्तरी क्षेत्र नं १ मा पटकपटक मन्त्री भइसकेका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल एक हजार ३० मतान्तरले अघिल्लो प्रतिस्पर्धीबाटै पराजित भए । एमालेका लक्ष्मी महतो कोइरी २३ हजार ४०२ दुई मत ल्याएर विजयी हुँदा पूर्वमन्त्री पोखरेलले २२ हजार ३०२ मत पाए । पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव पनि पराजित भए । कांग्रेसका नेता महेन्द्र राय महोत्तरी क्षेत्र नं ४ बाट निर्वाचित हुँदा पूर्वराज्यमन्त्री यादव पराजित भए ।
२०७४ सालको निर्वाचनमा निर्वाचित भएको धनुषा क्षेत्र नं ३ छाडेर सर्लाही क्षेत्र नं २ बाट चुनाव लडेका पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि पराजित भए । माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महीन्द्रराय यादव सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा महतो पराजित भए ।
वर्तमान सरकारको खानेपानीमन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नं १ मा पराजित भए, जहाँ एमालेका अच्युतप्रसाद मैनाली ३९ हजार १९५ मत ल्याएर विजयी भए । पूर्वमन्त्री तथा एमाले नेता एकबाल मियाँ बारा क्षेत्र नं ४ मा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठसँग पराजित भए । रासस