रौतहट । रौतहटको कटहरिया नगरपालिकाले नगरवासीलाई दिँदै आएको सुविधा कटौती नगर्न माग गर्दै वडाध्यक्षहरूले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । घरेलु प्रयोजन तथा कृषिकार्यमा खपत हुने विद्युत् महशुलमा छूटलाई निरन्तरता दिन वडाध्यक्षहरूले माग गरेका छन् । यस्तै खानेपानी, मालपोत लगायत सेवा नि:शुल्क गर्न समेत माग गर्दै वडा नं २, ३, ४ र ६ का अध्यक्षहरूले नगर उपप्रमुख रितादेवी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहलाई ज्ञापनपत्र बुझाएका हुन् ।
नगरवासीलाई दिँदै आएको नि:शुल्क सेवासुविधा कटौती नगर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । ज्ञापनपत्र बुझाउन वडा नं २ का अध्यक्ष हरीन्द्र साह कलवार, ३ का अध्यक्ष श्यामाकान्तप्रसाद यादव, ४ का अध्यक्ष चन्दन कुशवाह र ६ का अध्यक्ष जयराम चौधरी नगरपालिका पुगेका हुन् ।
नगरपालिकाका पूर्वमेयर सियाराम कुशवाहको कार्यकालमा नगरवासीले पाउँदै आएको नि:शुल्क सेवा सुविधा अहिलेको नेतृत्वले हटाइदिएको छ । ती सेवासुविधा पुन: नि:शुल्क पाउनुपर्ने माग राखिएको वडाध्यक्ष कुशवाहले बताए ।
गत आर्थिक वर्ष कोरोनापीडितका लागि रू. १० हजारका दरले आएको रकम र बाढीपीडितका लागि आएको रकम सम्बन्धित व्यक्तिकै खातामा तत्काल उपलब्ध गराउन वडाध्यक्ष कुशवाहले माग गरे । कटहरिया प्राथमिक स्वास्थ केन्द्रसहित स्वास्थ्य संस्थाहरूमा औषधिको अभावबारे पनि वडाध्यक्षहरूले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले उक्त मागहरू आगामी बैठकमा राखिने बताए ।