ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उखुखेती छाडेर अन्नबालीतर्फ सर्लाहीका किसान

२०७९ मंसिर, २५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सर्लाही । सर्लाहीका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरीलगायत बालीको खेतीमा आकर्षित भएका छन् । तीन/चार वर्षयता जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायत ठाउँका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा उखु मासेर तोरीसहितको अन्नबाली बढाउँदै लगेका छन् ।

उखुखेतीमा लगानी गरेर लगानीसमेत नउठेपछि तोरीखेतीतर्फ लागेको हरिवन नगरपालिका–८ का किसान हरि निरौलाले बताए । ‘उखुमा लगानीअनुसारको मूल्य छैन, यताका सबैजसो उखु उत्पादक किसानले अहिले उखु मासेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेका छन्,’ उनले भने ।
दुई दशक अघिसम्म तोरीखेतीमा अब्बल मानिने जिल्लामा केही वर्षदेखि उखु खेतीप्रतिको आकर्षण बढेको थियो । तर उखु विक्री गरेको रकम उद्योगले भुक्तानी नगर्दा निराश भएका उखु उत्पादक किसान अन्य खेतीतर्फ लागेका हुन् ।

सरकार, उद्योगी र किसानका प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगीले प्रतिक्विन्टल रू. ५२० र नेपाल सरकारले रू. ७० अनुदान रकम दिने सहमति गरिए पनि उद्योगले सहमतिअनुसारको रकम भुक्तानी नगरेकाले आफूहरूले उखु छोडेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेको हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले बताए ।     

उनका अनुसार जिल्लामा रहेका तीनओटा चिनी मिलमध्ये इन्दुशंकर चिनी उद्योगबाहेक अरू उद्योगले किसानको रकम भुक्तानी गरेका छैनन् । महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योग उखु अभावले गर्दा बन्दप्राय: छन् । जिल्लामा उखु २५ हजार हेक्टर र धान ४६ हजार ५०० हेक्टर क्षेत्रमा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए ।

हरिवनमा चिनी उद्योग स्थापना भएपछि किसानले सबैखाले अन्न बाली मासेर आफ्ना खेतबारीमा उखु लगाउन शुरू गरेका थिए । करीब २० वर्षपछि यहाँका किसान उखुखेती मासेर पुरानै खेतीमा फर्किएको स्थानीय जानकार राजकुमार उप्रेतीले बताए । ‘किसानले तोरीखेती मासेपछि खाने तेलको मूल्य आकाशियो, अहिले तोरी झार्नेबित्तिकै क्विन्टलको करीब रू. १५ हजारमा विक्री हुन्छ,’ उनले भने, ‘जग्गा जमीन धेरै हुनेले व्यावसायिक उद्देश्यले तोरीखेती गरेका छन् । थोरै जमीन हुनेले आफ्ना लागि मात्र भए पनि तोरी लगाउन थालेका छन् ।’

उखु लगाउँदा वर्षमा एकपटक उत्पादन निस्कने भए पनि तोरी वर्षमा तीन/चार बाली लगाउन पाइने र लगानी धेरै नलाग्ने हुँदा यसमा किसानको आकर्षण बढेको उनले बताए । थोरै लगानी गर्दा मनग्गे आम्दानी हुने भएपछि जिल्लाका उखु उत्पादक किसानले तोरीखेती बढाउन थालेका छन् ।

जिल्लाका किसान धान, हिउँदे मकैजस्ता बाली भित्र्याएपछि तोरीखेती गर्छन् । तोरीबालीभित्र चना, मुसुरोजस्ता दलहन बाली पनि उत्पादन हुन्छ । तोरी र चना भित्र्याएपछि खेत बर्खे मकै खेतीका लागि तयार हुन्छ । ‘तीन बाली लगाउँदा किसानले उखु खेतीबाट भन्दा पनि धेरै आम्दानी गर्छन्,’ स्थानीय छोटेलाल साहले बताए ।

यता, जिल्लाका उखु उत्पादक किसानलाई आफूहरूले नयाँ प्रजातिको उखुखेती गर्न बीउ वितरण गरेकाले जिल्लामा उखु उत्पादन बढ्ने इन्दु शंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए ।  रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)