हिमालय शमशेर राणा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नरका रूपमा बढी परिचित छन् । उनी नेपालकै प्रथम अर्थसचिव पनि हुन् । २००७ सालको परिवर्तनपछि स्थापित अर्थ मन्त्रालयमा सचिव भएका उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए । यस्तै सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र संघ अन्तर्गत विभिन्न देशमा रहेर काम गरेका उनले सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी स्थापना गरे ।
अनि सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेर अध्यक्ष भए । साविक निर्धन उत्थान बैंक र लुम्बिनी जनरल इन्स्योरेन्समा पनि अध्यक्षको रूपमा काम गरिसकेका उनी हाल हिमालयन बैंकको सञ्चालक समितिमा प्रमुख सल्लाहकार छन् । प्रस्तुत छ, सोमवार सम्पन्न सातौं संस्करणको ‘न्यूबिज बिजनेश कन्क्लेभ एन्ड अवार्ड्स’मा लाइफटाइम अचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्डबाट समेत सम्मानित राणासँग आर्थिक अभियानले गरेको कुराकानीको सार :
आजभोलि तपाईंको दिनचर्या कसरी बितिरहेको छ ?
अब आउने जनवरीमा ९५ वर्ष पूरा हुँदै छु । अवकाश भएको धेरै समय भइसक्यो । लामो समयसम्म नेपाल सरकारको सेवा र संयुक्त राष्ट्रसंघमा काम गरेँ । अहिले पनि म व्यस्त नै छु । आजभोलि दैनिक दुई–तीनओटा किताब लेखनमा व्यस्त छु ।
कुन कुन किताब ?
एउटा नेपालीमा आत्मकथा लेख्दै छु । अर्को एउटा ‘क्रोनिकल अफ दी राणाज्’ हो । यसमा राणाकालीन समयको राजनीतिक अवस्थाको बारेमा उल्लेख गर्ने प्रयास गरेको छु । जंगबहादुरदेखि मोहन शमशेरसम्मको समयमा भएका दरबारको आर्किटेक्चरबारे यसमा वर्णन छ । यसैगरी राणाहरूको इतिहास, प्रशासन क्षेत्र, कूटनीति, संस्कृति, साहित्यलगायत पक्ष समेट्न खोजिएको छ । यसको लेखन कार्य पूरा भइसकेको छ । अरू केही काम भने बाँकी छन् । त्यसपछि प्रकाशनमा आउँछ ।
नेपालको वित्तीय एवं व्यावसायिक क्षेत्रको उत्थानमा धेरै काम गर्नुभएको छ । अझै पनि ऊर्जाशील हुनुहुन्छ । त्यस आधारमा जीवनलाई फर्केर हेर्दा कस्तो लाग्छ ?
यो काम गर्न पाउँदा मैले आफूलाई भाग्यमानी रहेछु भन्ने ठानेको छु । किनभने अर्थ मन्त्रालय स्थापना गर्ने अवसर पाएँ । २००७ सालको युगान्तकारी परिवर्तनपछि सबै क्षेत्रमा परिवर्तनको शुरुआत भयो । त्यतिखेर अर्थ मन्त्रालय थिएन । अर्थमन्त्री सुवर्ण शमशेरको निर्देशनमा अर्थ मन्त्रालय खडा गरियो । उनी धेरै समय अर्थमन्त्री त भएनन् । पछि मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि म अर्थसचिव भएँ । लामो समयसम्म अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको गभर्नर भएर जुन योगदान गरेँ, त्यसको प्रशंसा अहिले पनि भएको पाउँछु । यो सुन्दा मैले त्यसबेला राम्रो काम गरेको रहेछु भन्ने लाग्छ ।
लामो समयसम्म तपाईंले पेशागत जीवन राष्ट्रको सेवामा व्यतीत गर्नुभयो । व्यक्तिगत जीवनलाई चाहिँ कसरी लिनुभएको छ ?
मेरो व्यक्तिगत जीवनको कुरा गर्ने हो भने मलाई खासै संकट परेन । गभर्नरबाट जुन दिन म बर्खास्तीमा परेँ, त्यसबेला भने संकट नै आइलाग्यो । बर्खास्त हुनुभन्दा केही वर्षअघि मात्र मेरो विवाह भएको थियो । धेरै दु:ख गरेर मेरै सक्रियतामा नेपाल राष्ट्र बैंक खडा गरिएको थियो । हो, त्यही समयमा मलाई त्यसबेला कांग्रेसी भनेर राजा महेन्द्रबाट बर्खास्त गरिएको थियो । मेरो कार्यकाल ५ वर्षको थियो । तर मलाई अनायास ४ वर्ष ८ महीनामै बर्खास्त गरियो । काम गर्न सक्ने मानिस भनेर नै मलाई गभर्नरमा नियुक्त गरिएको थियो । हुन त निर्दलीय व्यवस्था रहेकाले म मात्र नभई अरू पनि बर्खास्तीमा परेका थिए । राजा महेन्द्र र विश्वबन्धु थापाका विश्वासपात्रहरू मात्र बर्खास्तीमा परेका थिएनन् । गभर्नर हुनु अघिसम्म हाम्रो संयुक्त परिवार थियो । गभर्नर बनेको केही समयपछि मात्र मेरो भान्सा अलग भएको हो । त्यतिखेर मेरा दुई छोराछोरी थिए । हाम्रो सामान्य आर्थिक अवस्थाको परिवार भएकाले बर्खास्तीमा परेपछि कसरी जीविका चलाउने भन्ने चिन्ता भयो । त्यसपछि मैले संयुक्त राष्ट्रसंघमा जागीरका लागि निवेदन दिएँ, काम पनि गरेँ । अहिले त छोरोछोरी पनि आ–आफ्ना क्षेत्रमा राम्रोसँग काम गरेर बसेका छन् । मलाई त्यस्तो समस्या अहिले छैन ।
आफ्नो समयमा गरेका प्रमुख उपलब्धिहरूलाई अहिले कसरी सम्झनुहुन्छ ?
मैले त्यतिबेला अपेक्षा नै नगरेको कुरा के हो भने अर्थ मन्त्रालयमा काम गर्दा आम्दानी र खर्चदेखि सबै कुरा गोप्य राख्नुपर्ने अवस्था थियो । त्यो बेला सामन्ती अर्थ व्यवस्था थियो । त्यो समयमा नै मैले अर्थ मन्त्रालयमार्फत आम्दानी र खर्चलाई सार्वजनिक गर्न शुरू गरेको हुँ । त्यतिखेर विकास गर्न एकदमै आवश्यक थियो । त्यसका लागि त पैसा चाहियो । आय हुने खालको स्रोत केही थिएन । मालपोतबाट मात्रै कर संकलन हुन्थ्यो । कर संकलन हुने भन्सार अड्डाहरू व्यवस्थित थिएनन् । त्यतिबेला भन्सारलाई बजार अड्डा भनिन्थ्यो । भन्सार कार्यालयहरूलाई आधुनिक र व्यवस्थित गर्ने काम गरियो । त्यहाँ योग्य र सक्षम मानिस राखेर आयस्रोत बढाउने काम भयो । मेरै सक्रियतामा एक्साइज डिपार्टमेन्टका साथै इनकम डिपार्टमेन्ट खोलियो । सरकारको आम्दानी र खर्च पारदर्शी बनाउने काम गरेँ । अहिले पनि धेरैले ‘सरकारको आम्दानी र खर्च पारदर्शी गराउने काम तिमीले नै गरेको हो’ भन्छन् । योभन्दा बढी महत्त्वपूर्ण काम भनेको नेरू–भारूको सटहीदर कायम गरियो । त्यतिबेला यो अत्यन्त महत्त्वपूर्ण काम गरिएको हो भन्ने लाग्छ । नेपालमा नेपाली रुपैयाँ चलाउन सकस थियो । भारूको चलन थियो । त्यतिबेला नेरू–भारू सटही दर कायम नै गर्न सकिँदैन भन्ने थियो । नेरू र भारूको सटही दर कायम भएपछि नेपालको अर्थ व्यवस्था एकीकृत एवं सुरक्षित भएको हो । यो नगरेको भए त्यतिबेला ठूलो आर्थिक संकट आउने थियो ।
त्यतिबेला चाहेर पनि कुनै काम गर्न नसकेको वा ‘यो काम चाहिँ गर्न पाएको भए हुन्थ्यो’ भन्ने लाग्छ ?
आर्थिक क्षेत्रमा केही छैन । बैंकिङमा पनि छैन । बीमा कम्पनीमा भने केही गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको थियो । किनकि नेपालमा बीमा कम्पनीहरूले भारतको बीमा कम्पनीकै पोलिसीमा आधारित भएर काम गरिरहेका थिए । यस्तै नेपालमा पुनर्बीमा कम्पनी खोलौं भन्ने लागेको थियो । तर सरकारको नीति कहिल्यै पनि स्थिर नहुने अवस्थाले यसमा काम गर्न सकिएन । जहिल्यै गर्छु मात्र भन्ने तर काम नगर्ने सरकारको प्रवृत्ति हुन्थ्यो । त्यो काम चाहिँ मैले गर्न सकिनँ । तर अहिले त नेपालमा पुनर्बीमा कम्पनीहरू पनि खुलिसकेका छन् ।
धितोपत्र बजार सञ्चालनका लागि स्टक एक्सचेञ्जको स्थापना गर्नेतर्फ सोच्नुभएन ?
यसतर्फ मैले खासै ध्यान दिइनँ । त्यतिबेलाको समय अर्कै थियो ।
केन्द्रीय बैंक स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको नाताले अहिलेका वाणिज्य बैंक र बीमा कम्पनीहरूले सोचेअनुसार काम गरेका छन् जस्तो लाग्छ ?
नेपालमा बैंकहरू धेरै स्थापना भए । त्यसले गर्दा नै मुलुकमा आयात निर्यात व्यापारका साथै जग्गाको खरीदविक्रीमा धेरै मद्दत पुग्यो । उद्योगधन्दा विस्तार गर्न पनि धेरै सहज भयो । रोजगारीमा पनि वृद्धि भयो । हामीले नै स्थापना गरेको हिमालयन बैंकमा १५–१६ सय जनाले रोजगारी पाएका छन् । राम्रो तलबसुविधा पनि दिइरहेका छौं । अहिले बैंकहरूलाई समस्या छ । निक्षेप आइरहेको छैन, कर्जाको माग बढिरहेको छ । दुवैमा सन्तुलन नभएपछि ब्याजदर बढ्दै गएको छ । ब्याजदर बढ्यो भन्ने गुनासो आइरहेको छ । दुई वर्ष अघिसम्म बैंकको नाफा राम्रो थियो । बैंकमा लगानी गर्ने शेयरधनीले पनि राम्रो प्रतिफल पाएका थिए । अहिले अलि सकस भइरहेको छ । अर्कोतर्फ बीमा व्यवसाय पनि बढेको छ । पहिला चार–पाँचओटा कम्पनी मात्र थिए । अहिले बैंक जस्तै आवश्यकताभन्दा बढी भइसके । बीमा कम्पनीले पनि फाइदा कमाएको जस्तो देखिन्छ । तर यसमा कुनै बेला संकट आउने सम्भावना देखेको छु ।
बैंक ब्याजदरको विषयमा निकै विवाद छ । बैंकहरूले पहिला धेरै कमाइसकेका छन्, आर्थिक संकटको बेला कम कमाए पनि हुन्छ भन्ने आवाज समेत सुनिन्छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ?
आर्थिक संकट सृजना भएको बेला सरकारले उचित नीति ल्याउनुपर्छ । सरकारले अर्थ व्यवस्थालाई ठीक बाटोमा हिँडाउन सही उपाय खोज्न सक्नुपर्छ । अर्थ व्यवस्थालाई नियन्त्रणमा राख्न सरकार अनुदार हुनैपर्छ । अहिले बेलायतमा पनि यस्तै समस्या आएको छ । बेलायतमा मात्र होइन, संसारभरि नै ब्याजदर बढेको छ । आर्थिक संकट उन्मुख अवस्था नेपालमा मात्र छैन । सम्भाव्य आर्थिक संकटको सामना गर्न ब्याजदर कसिलो बनाउनैपर्छ । यसमा अन्य उपाय छैन । यसो गर्दा केही दु:ख सहनैपर्ने हुन्छ । अहिले ठूला उद्योगी, व्यवसायीलाई मात्र होइन, बैंकबाट कर्जा लिने साना व्यवसायी र सर्वसाधारणलाई समेत गाह्रो छ । आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने एउटा उपाय आयात निर्यातमा ठोस नीति अवलम्बन गर्नुपर्थ्यो । नयाँ उद्योगधन्दा खोल्न सरकारले सहयोग गर्नुपर्यो । । पैसा पुगेन भने नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्ने प्रबन्ध मिलाउनुपर्यो । नोट छापेर बैंकहरूलाई कर्जा दिनुपर्यो । त्यसपछि मात्र बैंकले पनि उद्योगी व्यवसायीलाई कर्जा प्रवाह गर्न सक्छन् । त्यसपछि मुलुकको आर्थिक गतिविधि बढ्न सक्छ । तर त्यो गर्ने आँट कसैमा भएन ।
धेरै नोट छाप्यो भने महँगी बढ्ने समस्या पनि आउला नि ?
हो, महँगी त बढ्छ । तर त्यसलाई सन्तुलनमा ल्याउन विशेष नीति ल्याउनुपर्छ । त्यो गर्न त पोलिसी नै चाहियो नि ।
त्यसो भए अहिलेको समस्या टार्न नेपाल राष्ट्र बैंकले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको देखियो, होइन त ?
संसारका केन्द्रीय बैंकहरूले गरे जस्तै नेपाल राष्ट्र बैंकले पनि आफ्नो ठाउँबाट त काम गरिरहेकै छ । उसले पनि नीतिनियममार्फत अर्थ व्यवस्था कसिलो बनाउने बाटो अपनाइरहेको छ । अर्थतन्त्रलाई खुुकुलो पार्नुपर्नेमा केन्द्रीय बैंक नै अर्थतन्त्रलाई कसिलो बनाउने बाटोमा लागेको छ । त्यसमा पनि दिनप्रतिदिन महँगी बढिरहेको छ । नयाँ आम्दानीको स्रोत बढ्न सकेको छैन । सर्वसाधारण जनताले महँगीको मार खेपिरहनु परेको छ ।
नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकका लागि कसिलो अर्थनीति आवश्यक छ भनिन्छ । यस्तो नीतिबारे तपाईंको धारणा के छ ?
त्यो ठीकै पनि हो । किनभने अहिलेको अवस्थामा नेपाल राष्ट्र बैंकले त्यो गरेन भने समस्या आउँछ ।
नेपालमा आयातित कच्चा पदार्थमा आधारित उद्योग धेरै छन् । कसिलो अर्थनीतिका कारण आयातमा आधारित उद्योगहरू समस्यामा परेका छन् । यसबाट त समस्या सृजना भयो नि, होइन र ?
कच्चा पदार्थको आयात रोक्नुहुँदैन । यसका लागि सहजीकरण गर्नुपर्छ । नेपालमा आयात रोक्नुपर्ने वस्तु छन् । नेपालमा आत्मनिर्भर हुन सकिने वस्तुको आयात समेत बढिरहेको देखिन्छ । आवश्यक नै न भएका वस्तु पनि आइरहेका छन् । अण्डा, केरा, दूधमा पनि स्वदेशी उत्पादनले नै माग धान्न सकिन्छ । यस्ता वस्तुको आयात निरुत्साहित गर्न कर बढाउने लगायत व्यवस्था गर्नुपर्छ । तर नभई नहुने कच्चा पदार्थको आयात रोक्नु हुँदैन । ६ महीनाका लागि मात्र नियन्त्रण गरेर भएन, त्यो सकिएपछि कच्चा पदार्थमात्र होइन, विलासिताका अन्य वस्तु पनि भित्रिने भए । यसकारण यसमा राष्ट्रिय नीति चाहियो । यसतर्फ ध्यान दिनुपर्यो ।
हाम्रो मुलुकको कर्मचारी अन्य मुलुकको कर्मचारीभन्दा कम क्षमताका छैनन् । सबै शिक्षित र अनुभवी छन् । तर पनि उनीहरूले ठीक लागेको नीति जारी गर्न पाउँदैनन् । माथिल्लो निकायले नीति बनाएकाले सोहीअनुसार नै कर्मचारीले काम गर्नुपर्ने बाध्यता छ । यसकारण अपेक्षा गरेअनुसार अर्थतन्त्रले गति लिन नसकेको हो ।
अलि फरक प्रसंगमा जाऔं, तपाईं आफ्नो जीवनकालमा राजनीतिक गतिविधिमा पनि लाग्नुभयो ?
लागिनँ । किनभने मलाई राजनीतिक गतिविधिमा लाग्ने मौका पनि मिलेन । कहिल्यै पनि सहभागी भइनँ ।
भर्खरै निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट युवाहरू पनि चुनिएर आएका छन् । अहिलेको राजनीतिक अवस्थालाई कसरी लिनुभएको छ ?
अहिलेको निर्वाचन परिणामले के देखाएको छ भने सर्वसाधारणमा आक्रोश छ । यो आक्रोश सत्ताधारी दलहरूप्रति केन्द्रित छ । यो निर्वाचनबाट नयाँ सोच र जाँगर भएका व्यक्ति छनोट भएको जस्तो देखिन्छ । उनीहरूले नयाँ नीति ल्याउलान् भन्ने आशा छ ।
निर्वाचित भएकामध्ये नयाँ पार्टीका धेरै जनामा त अनुभव नै नभएको जस्तो पनि देखिन्छ । नयाँ नयाँ व्यक्ति सत्तामा आउने अनि केही समयपछि हराएर जाने प्रवृत्ति नेपालमा मात्र होइन, संसारमै देखिन्छ ।
नयाँ पार्टीका नवनिर्वाचित जनप्रतिनिधिले जनताको आशा र अपेक्षाअनुसारको नीति ल्याउलान् ? यसप्रति तपाईंको धारणा के छ ?
सत्ताधारी दलहरूले पहिलेदेखि अहिलेसम्म जसरी जुन रूपमा काम गरिरहेका छन्, त्यसबाट कसैलाई चित्त बुझेको छैन, खासगरी अहिलेका युवा पिढीलाई । यसकै फलस्वरूप उनीहरूले नयाँ पिढीको पार्टीलाई भोट हालेका हुन् । उनीहरू निर्वाचित पनि भएका छन् । निर्वाचनको परिणाम हेर्दा अब सत्तामा नयाँ युवाहरू आउँछन् जस्तो लाग्छ । सत्तामा उनीहरूको प्रवेशपछि केही न केही त परिवर्तन आउला जस्तो लाग्छ ।
समाज अब परिवर्तनकै बाटोमा अगाडि लम्किएको हो त ?
अवश्य पनि । समाज अब यथास्थितिमा बस्दैन । समाजले परिवर्तन खोजिरहेको छ । रोकिने स्थितिमा छैन ।
नयाँ पुस्तालाई तपाईंले दिने सुझाव के के हुन सक्छन् ?
कुरा एउटा गर्ने अनि काम अर्को गर्ने भयो भने नयाँ पुस्ता सत्तामा आएको कुनै अर्थ रहँदैन । तर उनीहरूले अहिले जुन किसिमको सोच र विचार प्रकट गरिरहेका छन्, त्यसले पनि केही परिवर्तन हुन्छ जस्तो लाग्छ ।
सबै मिलेर देशमै रोजगारीका अवसर बढाउनुपर्यो । उद्योगधन्दा विकास र विस्तार गर्नुपर्यो । आज युवाहरू जीवनको ऊर्जाशील समयमा श्रीमती र बालबच्चा छाडेर कमाउन विदेशिनु परिरहेको छ । उनीहरूले त्यहाँ कडा परिश्रम गरिरहेका छन् । आखिर त्यहाँबाट पनि उनीहरूले धेरै रकम ल्याउन सकिरहेका छैनन् । विदेशमा गएर आफ्नो जवानी खेर फाल्नुभन्दा स्वदेशमै केही न केही काम गर्न रोजगारीका अवसर सृजना हुनुपर्छ । काम गर्ने वातावरण तयार गर्नुपर्यो । पहाडका गाउँघर दिनप्रतिदिन रित्तिँदै गएका छन् । युवा सबै विदेशिएका छन् । त्यस्तो अवस्था हुनु भएन । नेपालीले नेपालमै बसेर काम गर्न पाउनुपर्यो । यसका लागि सरकार, निजीक्षेत्र लगायत सबै मिलेर काम गर्न आवश्यक छ ।
नेपालमा बैंकहरूको संख्या धेरै भयो भन्ने बहस पनि भइरहेको हुन्छ । यसबारे के भन्नुहुन्छ ?
नेपालको हकमा धेरै भयो, यति नै हुनुपर्छ भन्ने त छैन । धेरै भएरै होला नेपाल राष्ट्र बैंकले पनि मर्जर नीति ल्याएको छ । सोहीअनुसार मर्जर पनि भइरहेको छ । तर सोचे अनुसार भइरहेको छैन ।
विकास बैंक र वित्त कम्पनीहरूको बारेमा चाहिँ तपाईंको धारणा के छ त ?
वाणिज्य बैंकका लागि न्यूनतम पूँजी यति चाहिन्छ भनेर स्पष्टसँग उल्लेख गरिएको छ । वाणिज्य बैंकका लागि आवश्यक पूँजी पुर्याउन नसकेपछि बैंकरहरूले नै विकास बैंकको अवधारणा ल्याएका हुन् । तर विकासका क्षेत्रमा लगानी विस्तार गर्छु भने पनि विकास बैंकहरूले गरेको देखिँदैन । उनीहरूले मिनी वाणिज्य बैंकको जस्तो भएर काम गरिरहेका छन् । विकास बैंकको अहिलेको काम र वाणिज्य बैंकको काममा त्यति फरक देखिँदैन ।
वित्त कम्पनी र लघुवित्त कम्पनीको भूमिका कस्तो देख्नुहुन्छ ?
मलाई वित्त कम्पनीको खासै भूमिका छ जस्तो लाग्दैन, देखेको पनि छैन । लघुवित्त कम्पनीहरूले चाहिँ उल्लेख्य भूमिका निर्वाह गरेका छन् । तर ती कम्पनी पनि आवश्यकताभन्दा बढी भए । पहिले नै यसमा सोच विचार गरेर मात्र इजाजत दिनुपर्दथ्यो । तर अहिले त लघुवित्त कम्पनीविरुद्ध पनि आवाज उठिरहेको अवस्था छ ।
नेपालमा पाँच प्रकारका (क, ख, ग, लघुवित्त र सहकारीसमेत)का वित्तीय संस्था क्रियाशील छन् । तपाईंंको विचारमा तीमध्ये कुन ठीक हो या कुन आवश्यक छ ?
वाणिज्य बैंक त आवश्यक छ नै । विकास बैंक पनि आवश्यक छ । तर विकास बैंकलाई उद्देश्य अनुसार अगाडि बढाउने हो भने वाणिज्य बैंकको तुलनामा दोब्बर पूँजी राखेर इजाजत दिनुपर्छ । तबमात्र प्रभावकारी हुन्छ । सहकारी पनि चाहिन्छ, चाहिँदैन भन्ने होइन । स्रोत नभएका स्थानीय सर्वसाधारणलाई पनि पैसा त चाहियो । न्यूनतम पूँजी समेत नभएका स्थानीय तहका मानिसलाई सहकारीले समेटेको छ । तर आफ्ना परिवारका सदस्यलाई मात्र समेटेर सहकारी खोल्ने प्रवृत्ति बढेको छ । आफ्ना प्रोजेक्टमा मात्रै लगानी गर्ने प्रवृत्ति सहकारी सञ्चालकहरूमा छ । त्यो राम्रो होइन । अर्को कुरा नेपालमा वित्त कम्पनीको आवश्यकता छ जस्तो लाग्दैन ।
लघुवित्त कम्पनीले सामूहिक जमानीमा ऋण दिने बंगलादेशको मोडललाई विकृत बनाउँदै लगेका हुन् त ?
नेपालमा लघुवित्त कम्पनीहरूको आवश्यकता छ । पहिला त मारवाडी समुदायका व्यक्तिहरू राम्रो ब्याज आउने भएकाले आकर्षित भए । १८ प्रतिशत ब्याज पाइने भएपछि नेपालमा लघुवित्त कम्पनी खोल्ने लहर नै चलेको हो भन्दा पनि हुन्छ । वास्तवमा नेपालमा लघुवित्त कम्पनीले बंगलादेशको मोडलमा काम गर्नुपर्दथ्र्याे, तर त्यसो हुन सकेन । त्यो मोडललाई नै विकृत बनाउन खोजिएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको त पहिला म पनि शेयरधनी थिएँ । न्यून आर्थिक अवस्था भएका व्यक्तिलाई ऋण दिनुपर्नेमा एउटै व्यक्तिलाई लक्षित गरेर चार–पाँच ओटा लघुवित्त कम्पनीले ऋण दिइरहेका छन् । आजभोलि समयमा कर्जा/ब्याज तिर्न नसकेर ऋणीले आत्महत्या गर्न बाध्य भएको समाचार पनि सुनिन थालेको छ ।
नेपालमा कृषि क्षेत्रको विकास गर्ने भनेर सरकारले कृषि विकास बैंक पनि स्थापना गरेको छ । यसले पनि वाणिज्य बैंकले जस्तै काम गरिरहेको देखिन्छ । यो त विरोधाभास भएन र ?
यसमा त सरकारले अगाडि नै गम्भीर भएर हेर्नुपर्थ्यो । तर हेरेको देखिएन । अनुगमन पनि गरेको पाइएन । उसले वाणिज्य बैंकले जसरी काम गरिरहेको छ । यो त वित्तीय क्षेत्रमा मिलेको जस्तो देखिएन ।
नेपालमा पूर्वाधार क्षेत्रको विकास र विस्तार गर्ने भनेर विकास बैंक पनि स्थापना गरिएको छ । यसबारे तपाईंको धारणा के छ ?
नाम त पूर्वाधार विकास बैंक नै राखिएको छ । प्राथमिक चरणमा रहेकाले काम भने हेर्न बाँकी छ । पूर्वाधार क्षेत्रको विकासका लागि त पैसा चाहिन्छ । उपाय त त्यही हो । हेरौं– उसले कति पैसा उठाउन सक्छ, कसरी काम गर्छ ।
अन्त्यमा थप के भन्नुहुन्छ ?
मुलुकमा दिनप्रतिदिन महँगी बढिरहेको छ । भ्रष्टाचार बढिरहेको छ । धनी दिनप्रतिदिन धनी भइरहेका छन् । गरिब दिनप्रतिदिन गरिब भइरहेको अवस्था छ । यस्तो अवस्थालाई अब हामीले उल्ट्याउनु पर्छ । समतामूलक वातावरण सृजना गर्नुपर्यो । मैले त अझ केही वर्षदेखि इन्हेरिटेन्स ट्याक्स लगाउनु पर्छ भनिरहेको छु । अहिले त विलासी जीवन व्यतीत गर्न भ्रष्टाचार गर्ने प्रवृत्ति बढिरहेको छ । भ्रष्टाचार गरेर तीन पुस्ताका लागि कमाउने होड चलिरहेको छ । बावुले कमाएको सम्पत्ति छोरामा आउँदा इन्हेरिटेन्स ट्याक्स लगाउने अर्थनीति आवश्यक छ भन्ने मलाई लाग्छ ।
(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)