वीरगञ्ज । कलमको आयात प्रतिस्थापन गर्ने उद्देश्यले बारा–पर्सा औद्योगिक कोरिडोरमा एक उद्योगीले कलम उद्योग सञ्चालनमा ल्याएका छन् । बाराको चैनपुरमा ‘वीणा शक्ति पेपर एण्ड स्टेशनरी प्रडक्ट’ नाममा उद्योग सञ्चालन भएको हो । वार्षिक ९ करोड थान कलम उत्पादन गर्ने लक्ष्यका साथ उद्योग सञ्चालनमा ल्याएको सञ्चालक मनोजकुमार मरोदियाले बताए । ‘नेपालमा कलम र स्टेशनरीको बजार राम्रो छ । तर सबै आयातित उत्पादनको कब्जामा छ । यो बजार अवसरलाई उपयोग गर्न उद्योग सञ्चालनमा ल्याएको हुँ,’ सञ्चालक मरोदियाले भने ।
४० करोड रुपैयाँको प्रारम्भिक लगानीमा खुलेको यो उद्योगले अहिले ‘फ्रेन्ज’ ब्राण्डमा ५ रुपैयाँदेखि ५० रुपैयाँ मूल्यसम्मका १६ प्रकारका कलम उत्पादन गर्दै आएको छ । उद्योगले इरेजर, सार्पनर र स्केल पनि उत्पादन गरेको छ ।
नेपालमा अहिले वार्षिक ३० करोड थान कलमको बजार रहेको अनुमान सञ्चालक मरोदियाको छ । स्वदेशी बजारमा वर्षमा कम्तीमा २ अर्ब रुपैयाँबराबरको कलम खपत हुने उनले बताए ।
कलम र स्टेशनरीको आयात व्यापारमा हासिल गरेको करीब २ दशकको अनुभव उद्योगमा लगाएको उनले बताए । नेपालमा कलमको ४० प्रतिशत बजार हिस्सा भारतीय उत्पादनको छ ।
सरकारले नीतिगत सहयोग गरेमा कलममा आत्मनिर्भर हुन सकिने दाबी उद्योगी मरोदियाले गरे । अहिले कलमको कच्चा पदार्थ र तयारी कलमको भन्सार महशुलमा ५ प्रतिशत मात्र अन्तर रहेकाले आयातित कलमसँग प्रतिस्पर्धा गर्न कठिनाइ भएको उनले बताए । ‘त्यसमाथि भन्सार छलेर अवैध रूपमा भित्रिने कलमले स्वदेशी उत्पादनलाई ठूलो मार पुर्याएको छ,’ उनले भने ।
अहिले कलमको कच्चा पदार्थमा १० प्रतिशत र तयारी कलममा १५ प्रतिशत भन्सार महशुल रहेको उनले जानकारी दिए । उद्योगले भारत, जापान, कोरिया, जर्मनीलगायत देशबाट कच्चा पदार्थ आयात गर्दै आएको छ ।