वीरगञ्ज ।मधेश प्रदेशलाई प्रविधियुक्त बनाउने अभियानमा उद्यमीहरु जुटेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको स्टार्टअप तथा इनोभेसन कमिटीको संयोजनमा यो अभियान बिहीवारदेखि शुरु भएको हो ।
महासंघले औद्योगिक तथा आर्थिक शहर वीरगञ्जबाट यो अभियान थालेको समितिका संयोजक अनुप अग्रवालले बताए । स्थानीय ४५ ओटा शैक्षिक संस्थामा प्रविधिको प्रयोगबारे अन्तरक्रिया सञ्चालन गरिने जानकारी अग्रवालले दिए ।
मधेश विश्व विद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले डिजिटलाइजेशन मानिसको अभिन्न आवश्यकता भइसकेको बताए । यसको उपयोगका अवसरसँगै जोखिमप्रति पनि सचेतनाको खाँचो रहेको उनले उल्लेख गरे ।
वीरगञ्ज पब्लिक कलेजबाट यस्तो अभियान थालिएको हो । उद्यमशीलतामार्फत मधेश प्रदेशलाई प्रविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघका प्रदेश अध्यक्ष गणेशप्रसाद लाठले बताए । यो कार्यक्रममा खल्ती र इजी इट्सले सहकार्य गरेका छन् ।