पर्सा । भारतमा कोरोना संक्रमित बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सतर्कता अपनाइएको छ । कोरोनाको संक्रमितलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो । वीरगञ्ज–रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मुलुकबाट आएकाहरूको परीक्षणका लागि वीरगञ्जको शंकराचार्यद्वारमा ‘हेल्थ डेस्क’ राखिएको छ । उनीहरूको सामान्य स्वास्थ्य परीक्षणसँगै एन्टिजेन कीटबाट कोरोनाको परीक्षण गरिएको हेल्थ डेस्क प्रमुख डा. अनिसा महतोले जानकारी दिइन् । पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेष्ट हुँदै आएकोमा पछिल्लो समय भारतमा संक्रमितको संख्या बढेपछि आवश्यताका आधारमा परीक्षण बढाइएको उनको भनाइ छ ।
कोरोना नियन्त्रणका लागि नारायणी अस्पतालले पूर्वतयारी पनि थालेको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए । संक्रमितलाई राख्न अस्पतालमा रहेको १८ शøयाको एचडीयू, ८ शøयाको सघन उपचार केन्द्र, उपचारका लागि आवश्यक जनशक्ति र अक्सिजनको प्रबन्ध मिलाइएको उनले बताए । ओमिक्रोनको ‘बीएफ ७’ भेरियन्ट तुलनात्मक रूपमा बढी संक्रामक रहेकाले यसबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न पनि चिकित्सकले आग्रह गरेका छन् । रासस