ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ अन्तरराष्ट्रिय विमानस्थल : ऋण तिर्न होला त सम्भव ?

२०७९ पुस, २८  
समाचार यातायात विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बनेको ७ दशकपछि मुलुकमा थप दुईओटा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आए । ठूलो विदेशी ऋण लिएर तयार गरिएका यी विमानस्थल सञ्चालनमा आउँदासम्मको ऋण भार मुलुकले थेग्न सक्छ कि सक्दैन ? भन्ने विषय अहिले चर्चामा छ । कतिपयले थपिएका दुवै विमानस्थल ‘सेतो हात्ती’ हुने तर्क गरिरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण भने अहिले नै यस्ता तर्कमा चर्काे बहस हुँदा उत्साह सृजना नहुने बताउँछ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल एशियाली विकास बैंक (एडीबी)को ऋण र अनुदान तथा ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओएफएफआईडी)सँग ऋण लिएर बनाइएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनाउन चीनको एक्जिम बैंकले ऋण दिएको छ ।

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यसको २५ प्रतिशतको ब्याज तिर्नुपर्दैन । ब्याज तिर्नु नपर्ने रकम ३४ करोड ४६ लाख ८५ हजार युआन हुन आउँछ । बाँकी रकममा २ प्रतिशत ब्याज छ । यस ऋणमा ७ वर्षको ग्रेस पिरियड छ र कुल २० वर्षमा यो ऋण तिरिसक्नुपर्छ ।

ग्रेस पिरियड चाँडै सकिँदै छ । प्राधिकरणका अनुसार पहिलो किस्ता बापतको ५ करोड ३० लाख २८ हजार ४६१ युआन आगामी चैतमा तिर्नुपर्ने छ । दोस्रो किस्ता त्यसको ६ महीनापछि तिर्नुपर्छ । प्राधिकरणले एक्जिम बैंकको ऋण अर्धवार्षिक किस्तामार्फत चुक्ता गर्नुपर्छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि पहिलोपटक २०७१ मा लगानी सम्झौता भएको थियो । त्यसपछि सन् २०१४ मा एडीबीले थप लगानी गर्ने अर्को सम्झौता भयो । यसअनुसार गौतमबुद्धमा एडीबीको ऋण एसडीआर र डलर गरी ४ करोड २७ लाख ५० हजार अमेरिकी डलर बराबर छ । एडीबीले १ करोड ५७ लाख ५० हजार डलर अनुदान पनि दिएको छ । ऋणको ब्याजदर ग्रेस पिरियडमा १ प्रतिशत र त्यसपछि डेढ प्रतिशत छ ।

गौतमबुद्धमै ओएफएफआईडीले पनि १ करोड ५० लाख डलर ऋण लगानी गरेको छ । यस विमानस्थलको ऋणको ग्रेस पिरियड २०७५ मै सकिएर साँवाब्याजको किस्ता भुक्तानी शुरू भइसकेको छ । प्राधिकरणले हालसम्म ४ किस्ता भुक्तानी गरिसकेको छ । कोभिड–१९ शुरू भएयता किस्ता तिर्न नसकिएको प्राधिकरणको भनाइ छ । गौतमबुद्धको किस्ता पनि अर्धवार्षिक हो । यसको किस्ता वैशाख र कात्तिकमा तिर्नुपर्छ । एक किस्ताबापत एसडीआर १ लाख ७१ हजार ५४२ र १ लाख १२ हजार ७०९ अमेरिकी डलर तिर्नुपर्छ ।

विकास साझेदार संस्थाले यी दुई विमानस्थलमा लगानी गरेको ऋणको साँवाब्याज सरकारले तिर्न सक्छ कि सक्दैन भन्ने विषयमा अहिले बहस चलिरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भने भर्खरै सञ्चालनमा आएका विमानस्थल बनाउन लिएको ऋणको किस्ताबारे अहिले नै यस्ता टीकाटिप्पणीमा हतार गर्नु सकारात्मक नभएको बताउँछन् । ‘पोखराजस्तो पर्यटकीय हबमा १५/२० वर्षअघि नै यस्तो खालको विमानस्थल बन्नुपर्ने थियो,’ उनले भने, ‘अहिले बन्दा सेलिब्रेशन गर्नुको सट्टा गलत तर्क गरेर घाटामा जान्छ, ऋण तिर्न सक्दैन भन्नु गलत हुन्छ ।’

अहिले प्राधिकरणले मुलुकभरका घाटामा रहेका विमानस्थलको दायित्व राम्रो आम्दानी हुने त्रिभुवन अन्तरराष्ट्रिय, भैरहवाको गौतमबुद्ध, पोखराका साथै केही तराई क्षेत्रका विमानस्थलबाट हुने आम्दानीबाट परिपूर्ति गर्छ । यिनै विमानस्थलको आम्दानीबाट नयाँ अन्तरराष्ट्रिय विमानस्थलको साँवाब्याज तिर्ने र ती संरचनालाई ‘सेतो हात्ती’मा परिणत हुन नदिने चुनौती भने प्राधिकरणलाई छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार गत आर्थिक वर्ष (आव) २०७८/७९ मा विमानस्थलहरूबाट कुल ७ अर्ब ५० करोड रुपैयाँ आम्दानी भएको छ । चालू आव २०७९/८० मा भने विमानस्थलहरूबाट १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान प्राधिकरणको रहेको उनको भनाइ छ । सरकारले २ प्रतिशतसम्ममा दातृ निकायबाट ऋण लिए पनि प्राधिकरणलाई ५ प्रतिशत ब्याजमा दिएको छ ।

केही सरोकारवाला पूर्वाधार निर्माण र त्यसले दिने प्रतिफलमा हतार गर्न नहुने तर्क गर्छन् । पूर्वअर्थसचिव रामेश्वर खनाल पोखराले १७ वर्षमै र गौतमबुद्धले १० वर्षमै ऋण तिरिसक्ने अवस्था रहेको धारणा राख्छन् । ‘यसका लागि अबको २ वर्षमा पोखरा विमानस्थलमा ४ लाख १० हजार यात्रुले उडान/अवतरण गर्नुपर्ने हुन्छ,’ खनालले भने, ‘यता गौतमबुद्धको क्षमता वार्षिक ३२ लाख यात्रुलाई सेवा दिने हो, तत्काल पूर्ण क्षमतामा नचले पनि आधा यात्रुलाई सेवा दिन सके पनि अधिकतम १० वर्षमा ऋण तिर्न सकिन्छ ।’

विमानस्थलमा यात्रु मुभमेन्ट २०२१ २०२२
पोखरा ५२९९४४ ८१६८८३
गौतमबुद्ध ५५८७३९ ६३५९०७
स्रोत : त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल    

उनले यसका साथै हवाई प्रवेश विन्दुका लागि भारतसँग बलियो नेगोशिएशन गरे र कार्गो उडानलाई विशेष प्राथमिकता दिएमात्रै पनि गौतमबुद्धको ऋण तिर्न समस्या नहुने बताए । गौतमबुद्ध विमानस्थलले सन् २०२१ मा ३ लाख ६० हजार ६४४ किलोग्राम र २०२२ मा ४ लाख २५ हजार २६५ किलोग्राम कार्गो सेवा दिएको छ । नेपालले अन्तरराष्ट्रिय विमानस्थल तयार पारे पनि अन्तरराष्ट्रिय उडान क्षेत्र (एयरस्पेस) भारतबाट पाउन सकेको छैन । अहिले नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने विमानहरू चारओटा विन्दु (भैरहवा, नेपालगञ्ज, जनकपुर र विराटनगरबाट बाहिरिन पाउँछन् । नेपाल प्रवेशका लागि भने भारतको एयरस्पेस हुँदै एउटामात्रै सिमरा विन्दु प्रयोग हुँदै आएको छ । ‘गौतमबुद्धका लागि अब नेपालले भैरहवा र नेपालगञ्ज प्रवेश विन्दु उपलब्ध गराउन भारतसँग जोडतोडले कुरा राख्नुपर्छ,’ खनालले भने, ‘यद्यपि यी दुवै हुन नसके पनि महेन्द्रनगर विन्दुबाट बाहिरिन र भित्रन दिन नेतृत्व तहबाट नै पहल जरुरी हुन्छ ।’

विमानस्थलको आम्दानीबाट साँवाब्याज दुवैै तिर्ने भनिए पनि गौतमबुद्धबाट अन्तरराष्ट्रिय उडान रोकिएको छ । अन्तरराष्ट्रियमा स्तरोन्नति भएपछि विमानस्थलमा जनशक्ति थपिनुका साथै बिजुली खपतजस्ता विषयले खर्च बढाएको गौतमबुद्ध विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । चार्टर्ड उडान गर्दै आएको नेपालको हिमालय एयरलाइन्सले मङ्सिर २९ गते र नियमित उडान गर्दै आएको विदेशी एयरलाइन्स जजिरा एयरले पुस ६ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेका छन् ।

‘जजिराले भने माघ २ गतेसम्ममा पुन: उडान गर्ने जानकारी गराएको छ,’ दाहालले भने, ‘हिमालयको स्पष्ट छैन ।’ जजिराले मौसमको कारण देखाएर उडान रोकेको छ । यद्यपि यात्रु पर्याप्त नहुँदा पनि रोकिएको उनको भनाइ छ । हिमालयले भने काठमाडौंबाट यात्रुलाई बस चढाएर गौतमबुद्धमा ल्याई गन्तव्य मुलुक पठाउने गरेको छ । यस्तो समस्याले हिमालयले पनि उडान रोकेको उनको भनाइ छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछि दोस्रो बढी आवतजावत हुनेमा पोखरा पर्छ । पोखरा विमानस्थल अहिले पनि नाफामा छ । पोखरामा अन्तरराष्ट्रिय उडान हुन नसके पनि आन्तरिक उडानबाटै यसलाई नाफा हुने र ऋण तिर्न १७ वर्षभन्दा बढी नलाग्ने पूर्वसचिव खनालको तर्क छ । ‘अन्तरराष्ट्रिय उडान भएमा अझ चाँडै तिर्न सकिन्छ,’ खनालले भने, ‘भैरहवाभन्दा पोखरामा राम्रो सम्भावना छ ।’  

पोखरा अन्तरराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनंकर्मीले पोखरा विमानस्थलबाट मात्रै ऋण तिर्नुपर्छ भन्ने नभएको बताए । ‘अहिले पनि घाटामा सञ्चालन भएका विमानस्थलको नोक्सानी अन्य विमानस्थलको आम्दानीबाट परिपूर्ति भइरहेको छ,’ मुनंकर्मीले भने, ‘प्राधिकरण नाफामुखी नभई सेवामुखी भएकाले समग्र प्राधिकरणको आम्दानीबाट ऋण तिर्न गाह्रो पर्दैन ।’ उनका अनुसार पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बनेपछि वार्षिक ५० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)