रौतहट । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रौतहट अनुमतिविनाका क्रशर उद्योग बन्द गराउने अभियानमा लागेको छ । विभिन्न स्थानमा निर्बाध रूपमा सञ्चालनमा रहेका क्रशर उद्योगको अनुगमन गरी अवैध पाइएकालाई बन्द गर्न प्रशासनले निर्देशन दिएको हो ।
जिल्लाको वृन्दावन नगरपालिका–६ मा रहेका रामजानकी क्रशर उद्योग, गुजरा क्रशर उद्योग र चन्द्रपुर नगरपालिका–८ मा रहेको आश्रय अस्फाल्ट एवं क्रशर उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले बताएको छ । गृह मन्त्रालयले अवैध क्रशर उद्योग बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट, घरेलु तथा साना उद्योग कार्यालय रौतहट र जिल्ला समन्वय समिति रौतहटका सरोकारवाला, कार्यालयका प्रमुख तथा निमित्त प्रमुखहरूले जिल्लामा सञ्चालित क्रशर उद्योगहरूको स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा अवैध सञ्चालन भएको पाइएका तीन उद्योग बन्द गरिएको रौतहट प्रशासनले बताएको छ ।