ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याई

२०७९ माघ, १  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

धनुषा । धनुषाका मूर्तिकारलाई यतिबेला सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याई छ । माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झैं उनीहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त छन् ।

जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाका ५३ वर्षीय चन्द्रदेव पण्डितले आगामी माघ १० गतेसम्म २२ प्रतिमा बनाइसक्ने गरी आफूले मङ्सिर २० देखि नै काम शुरू गरेको बताए । ‘गतवर्ष ३५ मूर्ति बनाएको थिएँ,’ उनले भने, ‘माघ १० गतेसम्म सबै मूर्ति बेचिसक्नुपर्नेछ ।’ २९ वर्षदेखि मूर्ति बनाउँदै आएका पण्डितले यो वर्ष मूर्ति बेचेर करीब रू. ५० हजार कमाउने लक्ष्य राखेका छन् ।

जनकपुरधाम–१५ का ३६ वर्षीय पञ्चा पण्डितले पनि माघ १० नकट्दै १५ प्रतिमा बनाइसक्ने गरी काम भइरहेको बताइन् । त्यसैगरी जनकपुरधाम–१९ का २३ वर्षीय राजाराम मण्डललाई पनि यतिबेला मूर्ति बनाउने चटारो छ । उनले यो वर्षको सरस्वती पूजामा २० प्रतिमा बेचेर रू. ५० हजारसम्म कमाउने सोच राखेका छन् । चन्द्रदेव, पञ्चा र राजारामले जस्तै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम, सबैला र तीनकौरियाका विभिन्न ठाउँमा मूर्तिकार सरस्वतीका कलात्मक प्रतिमा बनाउन जुटिरहेका छन् ।

सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले आफूहरूले माटोका कलात्मक प्रतिमा बनाउन थालेको राजाराम मण्डलले बताए । आफूले ६ वर्षदेखि हरेक सरस्वती पूजाको समयमा यो काम गर्ने गरेको उनले बताए । ‘माटोबाट बनेका सरस्वतीका कलात्मक मूर्ति बेचेर केही पैसा कमाउँछौं,’ मण्डलले भने, ‘मूर्ति बेचेर विद्यालय जाने सन्तान र परिवारको गर्जो केही समयका लागि भए पनि टार्नुपर्छ ।’

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका–१८ का ३५ वर्षीय विजय मण्डलले आफूहरूले सिजनअनुसार मूर्ति बनाउने गरेको बताए । खेतीको समयबाहेक हरेक पर्व र सिजनअनुसार मूर्ति बनाएर बेच्ने गरेको र यसले अर्थोपार्जनमा सघाउ पुगेको उनको भनाइ छ । ‘जागीर छैन, सधैं काम हुँदैन,’ मण्डलले भने, ‘आफूसँग भएको शीपको सदुपयोग गर्दै सरस्वती पूजा, दीपावली र अरू समयमा प्रयोग हुने प्रतिमा बनाएर आयआर्जन गरिरहेका छौं, यसले खर्च चलाउन केही सहज भएको छ ।’ जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर सरस्वती पूजाआराधना गर्ने चलन छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)