रौतहट । निर्माण व्यवसायी संघ रौतहटले नदीजन्य सामग्री उत्खननमा देखिएको समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले विज्ञप्ति निकाल्दै निर्माण उद्योेगका लागि आवश्यक कच्चापदार्थ गिट्टी, बालुवा, ढुंगा, माटोलगायत सामग्री उत्खनन, ओसारपसार लगायतमा पछिल्लो समय देखिएको समस्याप्रति ध्यानाकर्षण भएको बताएको हो ।
विगतमा पटक पटक नदी तथा खानीजन्य निर्माण सामग्री उत्खननमा देखापर्ने समस्याले उद्योगमा असर परेको संघको भनाइ छ । निर्माणका लागि आवश्क पर्ने क्रसर उद्योगहरू बन्द हुँदा त्यसको असर राष्ट्रिय गौरवका आयोजनामा समेत परेको संघको विज्ञप्तिमा उल्लेख छ ।
क्रसर उद्योग बन्द गरिएकाले निर्माण सामग्रीको अभाव भई निर्माण कार्यहरू ठप्प हुन पुगेको संघको भनाइ छ । नदी तथा खानीजन्य सामग्रीको उत्पादन, उत्खनन र संकलनमा विभिन्न स्थानीय निकायले विनामापदण्ड फरक फरक रोयल्टी निर्धारण गर्ने गरेको पाइएको संघले बताएको छ । यस्तो रोयल्टीको मापदण्ड संघीय सरकारले नै बनाउनुपर्ने र निर्माण सामग्रीको सुलभ मूल्य निर्धारण गर्नुपर्नेमा संघले जोड दिएको छ । इन्धनसहित निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण परियोजना अघि बढाउन समस्या भइरहेको भन्दै संघले गृह मन्त्रालयबाट जारी भएको पछिल्लो निर्देशनबाट निर्माण उद्योग र उपभोक्तामा गम्भीर असर परेको उल्लेख गरेको छ ।