रौतहट । विद्युतीय सवारीसाधन चार्जिङका लागि चन्द्रपुरमा चार्जिङ स्टेशन निर्माण हुने भएको छ । नगरपालिकाको वडा नं ४ मा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो । चार्जिङ स्टेशन चन्द्रपुर नगरपालिका र मधेश प्रदेशको नवप्रवर्तन साझेदारी कोषको २ करोड १४ लाख रुपैयाँमा निर्माण गरिने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकैको स्थानमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण गरिने चन्द्रपुर नगरपालिकाका योजना शाखाका इन्जिनीयर महेश बोहोराले बताए । उनका अनुसार जेठसम्ममा निर्माण सक्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।
चार्जिङ स्टेशनमा एक सेटमा दुईओटा विद्युतीय गाडी एकैपटक चार्ज हुनेछ । यस्तै ई–रिक्साका लागि ६ ओटा चार्जिङ प्वाइन्ट र दुईपांग्रे विद्युतीय सवारीसाधनका लागि पाँचओटा चार्जिङ प्वाइन्ट राखिने बोहोराले बताए ।
चार्जिङ सेन्टरमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालय लगायतका पूर्वाधार समेत रहने उनले बताए । स्वदेशमा उत्पादित विद्युत्को आन्तरिक प्रयोग बढाउन र पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय चार्जिङ स्टेशनले मद्दत पुग्ने नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले बताए । विद्युतीय सवारीसाधनको प्रयोगले वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । चन्द्रपुर क्षेत्रभित्रका विद्युतीय सवारीसाधन र यस क्षेत्रको राजमार्ग हँुदै चल्ने यस्ता सवारीसाधनलाई उक्त चार्जिङ सेन्टरले धेरै सहज हुनेछ । विद्युतीय चार्जिङ सेन्टर निर्माण भएपछि विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने नगरपालिकाको विश्वास छ ।