सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाले लामो समयपछि बल्ल बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन ।
स्थानीय तहले प्रत्येक वर्ष असारमै नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भए पनि विष्णु गाउँपालिकाले माघ ४ गते मात्रै नीति तथा कार्यक्रम र बजेट एकसाथ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव सापकोटाले जानकारी दिए ।
‘जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा नीति तथा कार्यक्रम पारित हुन सकेको थिएन,’ उनले भने, ‘लामो समयपछि राजनीतिक सहमति जुटेपछि नीति तथा कार्यक्रम र बजेट दुवै पारित भएको हो ।’
गाउँसभाले चालू आर्थिक वर्षका लागि रू. ५० करोड ८७ लाख ८८ हजारको बजेट ल्याएको थियो । बजेट पारित नहुँदा गाउँपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिलालगायतले पनि बजेट पारित नहुँदा सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । विकास निर्माणसँगै अन्य क्रियाकलाप ठप्प छन् । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले अब भने तलब, भत्ता, कार्यक्रम, योजना सबै नियमित चल्ने बताए । पटक–पटक गाउँसभाको बैठक बस्ने प्रयास भए पनि सहमति जुट्न नसक्दा बजेट पारितमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले बताए । रासस