रौतहट । मधेश प्रदेश सरकारमा रौतहटबाट चारजना मन्त्री भएका छन् । प्रदेश सरकारको दोस्रोपटक मन्त्रिपरिषद् विस्तार भएसँगै रौतहटले दुई मन्त्री र दुई राज्यमन्त्री पाएको हो । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित गठन गरेका हुन् ।
रौतहटबाट जनमत पार्टीका वसन्त कुशवाह कृषिमन्त्री र नेकपा एमालेका मो. जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् । त्यस्तै जनता समाजवादी पार्टीका शेख अब्दुल कलाम सामाजिक विकास राज्यमन्त्री र नेकपा एमालेका (पहिले स्वतन्त्र) केशव राय चौधरी गृह तथा सञ्चार राज्यमन्त्री बनेका हुन् ।
यसअघिको प्रदेश सरकारमा रौतहटले एक राज्यमन्त्री मात्र पाएको थियो । प्रदेश सरकारमा रौतहटबाट चार मन्त्री हुनुले यहाँको विकासमा थप सहयोग पुग्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालय मन्त्रीविहीन छ । मुख्यमन्त्री यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैसँग राखेर अन्य मन्त्रालयलाई पूर्णता दिएका हुन्, जसअनुसार ९ जना मन्त्री बनेका र तीनजना राज्यमन्त्री छन् ।