महोत्तरी । बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित इलाका प्रहरी कार्यालय बर्दिबास परिसरमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय सवारीसाधन (इभी) का चालक दङ्ग छन् । यो स्टेसन सञ्चालनमा आएपछि सवारीसाधन चार्ज गर्न निकै सहज भएको इभी सवारी चालकको भनाइ छ ।
पूर्वपश्चिम राजमार्गसँगको बर्दिबास–सिन्धुली–काठमाडौँ, बर्दिबास–गाईघाट–चतरा, बर्दिबास–मन्थली–दोलखा र बर्दिबास–घुर्मी–ओखलढुङ्गासँगै खोटाङ र सोलुखुम्बुसम्मको रुटको मुख्य सङ्गमस्थल (बर्दिबास)मै सञ्चालनमा आएको विद्युतीय चार्जिङ स्टेसनले अहिले निकै राहत दिएको हो । अहिले परीक्षणकै क्रममा रहेको चार्जिङ स्टेसनमा सवारी साधनका लाम देखिन्छन् ।
चार्ज गर्न पाइएको सहजताले अब इभी साधन नै चलाउने मनस्थितिमा सवारी व्यवसायी देखिन थालेका छन् । यस भेगमा इभीको ‘क्रेज’ बढ्दै छ । दिनहुँ यस्ता नयाँ साधन सडकमा थपिएका छन् ।
‘कता होला चार्जिङ स्टेसन भनेर सोधखोज गर्नुपर्ने र रुमलिने स्थिति अन्त्य भएछ,’ सानो कारका चालक प्रशान्त झाले भने, ‘यहाँ त सडकको छेउमै परैबाट देखिने ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा आएछ, धेरै सजिलो भयो ।’ यो स्टेसनको सञ्चालनले इभी साधनको प्रवद्र्धनमा बल पुर्याएको झाको ठम्याइ छ ।
पहाड, मधेशका विभिन्न सडक सञ्जालको मुख्य सङ्गमस्थल रहेको बर्दिबासमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि इभी सवारीसाधनको प्रयोग र यिनको प्रवद्र्धनमा बल पुगेको यस्ता साधनका धनी र चालकको भनाइ छ । बर्दिबास–३ गौरीडाँडास्थित यो चार्जिङ स्टेसन अत्याधुनिक प्रविधि जडित र एकपटकमा छ वटा सवारीसाधनको चार्ज गर्न मिल्ने भएको हुँदा साधनवालाले लामो समय पर्खन पर्ने अवस्था नरहेको इभी सवारी चालक बताउँछन् ।
अहिले परीक्षणका क्रममा रहेको यो स्टेसनमा दैनिक १५/१६ सवारीसाधनले चार्ज गर्दै आएको स्टेसन प्राविधिक सागरमान ताम्राकार बताउँछन् । ‘यो स्टेसनमा ‘जिबिटी’ र ‘सिसिएस’ प्रणालीका अत्याधुनिक मेसिन जडित छन्, ‘जिबिटी’बाट ठूला र ‘सिसिएस’बाट साना सवारी साधन चार्ज गरिन्छन्,’ स्टेसनको सेवाबारे स्पष्ट पार्दै ताम्राकार भन्छन्, ‘दुवै प्रणालीतर्फ एकपटकमा तीन/तीन सवारीसाधन चार्ज हुन सक्छन् ।’ इलाका प्रहरी कार्यालय बर्दिबासले उपलब्ध गराएको जग्गामा स्टेसन निर्माण भई सञ्चालनमा आएको हो । प्रहरी कार्यालय परिसरमै हुँदा स्टेसन सुरक्षा पनि सहज भएको छ ।
प्रसिद्ध चिनियाँ कम्पनी ‘वाङ् वान डिजिटल इनर्जी कम्पनी’ ले निर्माण गरेको चार्जिङ स्टेसन अब चाँडै नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी रहेको निर्माण कम्पनीको नेपालस्थित प्रतिनिधि दिगो कार्यक्रमका शिव अधिकारी बताउँछन् । ‘हामीले नेपाल विद्युत् प्राधिकरण र वाङ् वान डिजिटल इनर्जी कम्पनीबीच भएको सम्झौताअनुरूप स्टेसन निर्माण गरेका हौँ, यो अहिले परीक्षणका रूपमा सञ्चालनका क्रममै छ,’ अधिकारी भन्छन्, ‘अब केही हप्ताभित्रै प्राधिकरणलाई हस्तान्तरण गर्दैछौँ ।’
अहिले परीक्षण अवधिमा समय तालिकाका आधारमा चार्ज शुल्क निर्धारित छ । रासस