पोखरिया । नेपाल भारत सीमाबाट हराएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएका छन् । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलामा सीमास्तम्भ भेटिएपछि जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ ।
जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन नगर्न भारतीय पक्षसँग आग्रह पनि गरेको छ । ओरिया खोलामा भारतीय पक्षले ठेक्का लगाएर दिनहुँजसो बालुवा उत्खनन गर्दै आएको छ ।
खोलामा बालुवा उत्खननका क्रममा पुरिएको अवस्थामा सीमास्तम्भ भेटिएपछि ओरिया खोलाको विवाद फेरि बाहिर आएको हो । खोलामा सीमास्तम्भ भेटिएपछि भूमि भारतकै हो कि नेपालतर्फको भन्ने बारे यकीन नभएकाले सुरक्षा निकायको माथिल्लो तहमा कुरा राख्नुपर्ने भएको छ । त्यसका लागि उत्खननमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बताए ।
चार दिनअघि मात्रै ओरिया खोलामा ४२२ नम्बरको मुख्य सीमास्तम्भ भेटिएको थियो भने हाल ४२२/१ नम्बरको सहायक सीमास्तम्भ खोलामै भेटिएको थपलियाले बताए । जगरनाथपुर गाउँपालिका–१ पिपडारी हुँदै भारततर्फ जाने ओरिया खोलामा धमाधम सीमास्तम्भ भेटिन थालेपछि प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको नेतृत्वमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुखले स्थलगत अवलोकन गरेका थिए । त्यसलगत्तै पहिलेदेखि नै विवादित बन्दै आएको ओरिया खोलामै हराएका सीमास्तम्भ भेटिएपछि त्यसबारे आवश्यक छलफल गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले दशगजा क्षेत्रमा रहेको ओरिया खोलामा सीमास्तम्भ भेटिएपछि अब सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिँदै वर्षांैदेखि भारतीयतर्फको ठेकेदार पक्षले ओरिया खोलामा उत्खनन गर्दै आएको बताए । रासस