रौतहट । नेपाल र अंग्रेजबीच भएको युद्धमा अंग्रेजलाई परास्त गरेको दिनको सम्झनामा रौतहटको समनपुरमा वर्षेनि आयोजना हुने ‘फागु बैरिया मेला’ यस वर्ष फागुन १९ देखि २३ गतेसम्म हुने भएको छ । सन् १८१४ मा नेपाल–अंग्रेजबीच भएको युद्धमा समनपुरवासीले अंग्रेजलाई धपाएको र धेरै हातहतियार खोसेको इतिहास छ ।
इतिहासलाई जीवित राख्न र भावी पुस्तालाई जानकारी दिन मेला आयोजना गर्न लागिएको गढीमाई नगरपालिकाका प्रवक्ता दीपेन्द्र श्रेष्ठले बताए । नेपालीले अंग्रेज सेनालाई समनपुरबाट लखेटेको ऐतिहासिक दिनको सम्झना गराउन, इतिहासको संरक्षण तथा प्रचार गर्न, स्थानीय संस्कृतिको संरक्षण गर्न उक्त मेला आयोजना गर्ने गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अंग्रेजबाट खोसिएको हातहतियार अहिले पनि सुरक्षित राखिएको गढीमाई नगरप्रमुख श्याम यादवले बताए । मेलामा विभिन्न झाँकी तथा प्रदर्शनी, सांगीतिक तथा सांस्कृतिक कार्यक्रम, व्यापार, व्यवसाय र स्थानीय खानाका विविध परिकारको प्रदर्शनी तथा विक्री गरिने उनले बताए । मेलामा करीब ४ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।